काठमाडौं(जस)– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विवाद थप चकिएको छ । लगातार केन्द्रीय समितिको बैठक बहिष्कार गरेको वरिष्ठ नेता रामचन्द पौडेल समुहले पत्रकार सम्मेलन गरेर सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा निर्णय गरेर पार्टी भित्रको लोकतन्त्रलाई समाप्त पारेको आरोप लगाएको छ ।
शनिबार महाराजगन्जमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले शुक्रबारको केन्द्रीय समितिले गरेका निर्णयहरु प्रति आपत्ति जनाएका छन् । नेता पौडेलले अहिले नेकपा नेकपा सरकारले दुई तिहाइका नाममा लाद्न खोजेको अधिनायकवादी चरित्रको विरुद्ध गरिरहेका बेला पार्टी भित्र नै बहुमतले जे पनि निर्णय गर्दा पार्टीभित्रै लोकतन्त्र कहाँ छ ? भन्दै प्रश्न गरेका थिए । उनले सभापतिको अधिनायकवादी सोचका साथ गरेका निर्णय स्वीकार्य नहुने भन्दै भने, ‘बहुमतको आडमा भएको निर्णयले कांग्रेसलाई अझ धरासायी बनाउँछ । केन्द्रीय समितिका निर्णय हामीलाई स्वीकार्य छैन ।’
त्यस्तै महामन्त्री शशांक कोइरालाले पार्टी एक हुनुपर्नेमा जोड दिदै पार्टी सभापति नै एकताका लागि अग्रसर हुनुपर्ने बताए । उनले भने, ‘पार्टी एक हुनुपर्छ, गुट उपगुट हुनु हुँदैन’, कोइरालाले भने, ’यसका लागि सभापतिले अग्रसरता लिनुपर्छ ।’ नेता प्रकाशमान सिंहले सभापतिले बिना जानकारी गरेको आरोप लगाउदै केन्द्रीय समितिका निर्णयहरु निर्णय आपत्तिजनक भएको बताए । उनले यो निर्णय लोकतान्त्रिक पार्टीका लागि खेदजनक भएको बताउदै भने,’ हामीलाई जानकारी नदिई सभापतिले गरेका निर्णय आपत्तिजनक छन्’, नेता सिंहले भने, ’लोकतान्त्रिक पार्टीका लागि यो खेदजनक कुरा हो ।’
पौडेल र सिटौला समितिले बहिष्कार गरेको शुक्रबारको काँग्रेस कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पुर्यागउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको थियो । गत मङ्सिर २६ गतेदेखि बैठक शुरु भएको भएपनि विवाद मिलाउने भन्दै पटक पटक सारिएको थियो । विवाद मिलाउने प्रयास असफल भएपछि शुक्रबारको बैठकबाट सभापति देउवा भने पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने रणनीतिमा अघि बढेका छन् ।
पार्टी एकता आवश्यक : सभापति देउवा
जनकपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र एकता आवश्यकता रहेको बताएका छन् । उनले पार्टी्भित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प नरहेको समेत बताए । शनिवार धनुषाको सबैलामा नेपाली काङ्ग्रेस धनुषाले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा आन्तरिक एकता भएमा काङ्ग्रेसलाई कसैले डगमगाउन नसक्ने बताएका हुन् ।
नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले केपी ओलीको एकलौटी शासनशैलीको कारण लोकतन्त्रमाथि संकट देखिएकाले समेत पार्टी एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारे । ओली संघीयतामाथि नै हमला गर्न उद्धत रहेको देउवाले आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको छ । कानुनहरु संशोधन गरेर संघीयता मास्न खोजेको छ ।’ लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउँदै उनले कम्युनिस्ट सरकारले हरेक आयोग गठन गर्न एकलौटी गरेको आरोप समेत लगाए । त्यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए । मधेस र मधेशी जनताका कुरा सुन्नै नसक्ने ओली सरकारविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बाहेकको कुनै बिकल्प नरहेको बताए ।