काठमाडा(जस)–महानगरीय प्रहरी परिसर काठमाण्डौले बलि चढाउने प्रयासमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गरेको ‘कोभर्ट अपरेशन’बाट मोडलिङ गराउने भन्दै युवतीलाई सीमापार गराई बलि चढाउने प्रयासमा सात जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरुमा नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश शाह, दाङका दिल कुमारी बुढामागर, सप्तरीका उमेश माझी, विराटनगरका दिलिप पोदार, धादिङ्गका प्रेमा तामाङ र सुनसरीका रंजित कुमार चौधरी छन् । अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएर बली चढाउने प्रयास गर्दै गर्दा जोगबनीबाट नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभमा परेर ६ जनाले नेपाली युवतीलाई बलि चढाउन खोजेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका प्रेममाया र कृष्णलाई युवती मिलाइदिए वापत ५ लाख रुपैयाँ दिने आश्वसन दिइएको थियो । अन्यलाई दिने रकम भने खुलेको छैन । घटनाको मुख्य योजनाकार पोद्दार भएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएका लाई जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिएका मध्ये उमेश जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट अपहरण, शरीर बन्धक तथा हातहतियार तथा खरखजना मुद्दामा धरौटीमा छुटेका व्यक्ति भएको खुल्न आएको छ ।
नियन्त्रणमा लिएकाबाट नगद १ लाख ९ हजार ५ सय, विभिन्न बैंकको ९ लाख एक हजार रुपैयाँ बराबरको चेक, कालो रङ्गको धागो, गेरु रंगको कपडा र कालो धागोले बाँधेको जाँदीको दुई वटा जन्तर, तान्त्रिक पूजाका सामग्री लगायत बरामद भएको जनाइएको छ ।