आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काठमाडौंमा अवैध चिनियाँ पक्रन प्रहरी अप्रेसन, सयभन्दा बढी चिनियाँ नागरिक पक्राउ

मंगलबार, पुष ८ २०७६

काठमाडौं(जस)–काठमाडौंमा प्रहरीले अवैध चिनियाँ नागरिक पक्राउका लागि वृहत अप्रेसन चलाएको छ । सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।
एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए । प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । उनले भने, ‘सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौँ ।’ चिनियाँ पक्राउका क्रममा सोमबार दिउँसो बालाजु क्षेत्र एक छिन् तनावग्रस्त बनेको थियो । केही स्थानमा त प्रहरीले फाइरिङ हुनसक्ने भन्दै स्थानीयलाई घरभित्र बस्न र सटर पसल बन्द गर्न भनेको थियो । बालाजुमा प्रहरीको ठूलो संख्या हतियारसहित पुगेपछि स्थानीयका लागि चासो बनेको थियो ।
भिसाको म्याद गुज्रिसकेपछि पनि नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राजधानीका विभिन्न अपार्टमेन्ट तथा फ्ल्याटहरुमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार आईजीपी सर्वेन्द्र खनालकहाँ यससम्बन्धी सूचना आएपछि उनले सीआईबीलाई अनुुसन्धान गर्न निर्देशन दिएका थिए । खनालको निर्देशनसँगै सोमबार सीआईबीमा महानगरीय प्रहरी परिसर, अपराध महाशाखालगायतका प्रमुखहरुको बैठक बसेर सर्च अभियान तीव्र बनाउने निर्णय भएको थियो । लगत्तै बूढानीलकण्ठ, बाँसबारी, धुम्बाराहीलगायतका स्थानमा प्रहरीले छामा मारेर १०० बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार उनीहरु साइबरसम्बन्धी अपराधमा संलग्न रहेको पाइएको छ । विदेशमा समेत उनीहरुले काठमाडौँबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।
प्रहरीले चिनियाँ नागरिकको साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिमलगायत बरामद गरेको बताइएको छ । आफ्नो नेटवर्कको माध्यमबाट आर्थिक अपराधमा संलग्न ठूलो गिरोह पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउदै उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यसअघि बैंकको एटीएमबाट पैसा चोर्ने ठूलो चिनियाँ गिरोह पत्ता लागेको थियो । बैंकको कम्प्युटर प्रणाली नै ह्याक गरेर एउटा समूहले करोडौं निकालेको पत्ता लागेको थियो । प्रहरीले बिस्तृत अनुसन्धानपछि मात्र उनीहरुलाई सार्वजनिक गर्ने भन्दै पक्राउ गरेका कैयौ चिनियाँ नागरिक गैरकानुनी ढंगबाट नेपालमा बसेको र केहि भिसा लिएर बसेको देखिएको बताएको छ ।
प्रहरी निरीक्षकहरुको सरुवा
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले सोमबार एक सूचना जारी गरी जनाएको छ । कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार