शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

दैलेखकाे ठाटीकाँध गाउँपालिका अध्यक्षको अपहरण, विप्लब समूहले लियो जिम्मा

आइतबार, पुष ६ २०७६

काठमाडाैं (जस) दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही शनिबार राति अपहरणमा परेका छन् ।शनिबार मध्यराति ठाँटीकाँध गाउँपालिका प्रवेश गरेको हतियारधारी समूह वडा नं. २, प्याडुली हुँदै गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीको घरमा पुग्यो । पटकपटक ढोका ढक्ढक्याएपछि शाही पत्नी इलाले दैलो उघारेकी मात्र के थिइन्, १०/१२ जनाको समूह घरभित्र प्रवेश गरी शाहीलाई उठाउन खोज्यो । सो समूहले शाहीलाई ‘हामीसँग हिँड्’ भनेपछि इलाले प्रश्न गरिन्, ‘किन जाने ? कहाँ जाने ?’समूहका एक जनाले ‘सोधपुछ गर्नुछ, फर्काइहाल्छौं’ भन्ने जवाफ दिएको इलाले सुनाइन् ।नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी इलाले माओवादी द्वन्द्वको समयमा घरबाट यसैगरी लगिएका व्यक्तिहरु नफर्काएको सम्झिइन् । र, श्रीमानलाई लैजाने भए आफू पनि सँगै जाने बताइन् । हतियारधारी समूहले ‘हल्ला किन गर्नुहुन्छ’ भन्दै धम्क्याए तर उनले मानिनन् ।

करिब आधा घण्टा यस्तै गलफत्ति चल्यो । अन्ततः धिरबहादुर दम्पत्तिलाई सो समूहले घरबाट अपहरण गर्‍यो । तर करिव दुई घण्टा हिँडाएपछि वडा नं. २ को जंगलमा पुर्‍याएपछि इलालाई यहीँबाट फर्किन भनियो । नफर्किए ‘जे पनि हुनसक्ने’ धम्की दिइयो । धिरबहादुरलाई भने नकाबधारी समूहले आफूसँगै लगेको छ ।अध्यक्ष शाहीलाई लिन जाँदा उनको श्रीमती पनि सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको नेकपा दैलेखले जनाएको छ ।विप्लव नेकपा स्रोतले भन्यो, ‘हामीले शाहीकी श्रीमतीलाई नियन्त्रणमा लिएको होईन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो, उहाँलाई बाटोमा नै छोडिसकिएको छ ।’अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ ।यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट अपहरणमा परेका ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीकी सकुशल रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार