काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन निरीक्षण गरेका छन्। बुधबार बिहान अध्यागमनले प्रयोगमा ल्याएको प्रविधिले कसरी काम गर्छ भनेर अध्यागमनका अधिकारीहरुले गृहमन्त्रीलाई देखाउन खोन्दा पासपोर्ट स्क्यानर मेसिनले काम गरेन ।
अनुगमनमा गएको गृहमन्त्रीसहितको टोलीलाई पासपोर्ट स्क्यानिङ गरेर देखाउने पहिलो प्रयास सफल नभएपछि अध्यागनमनको दोस्रो काउन्टरमा त्यस्तै प्रयास गरियो। तर त्यो पनि सफल नभएपछि तेस्रो काउन्टरमा सोही प्रयास गरियो। अन्ततः सफ्टवेयरले काम गर्यो र पासपोर्ट स्क्यान गर्यो।
अध्यागमनको अनुगमनमा गृहमन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत थिए।
अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यलय पहिलेभन्दा निकै सुधार भए पनि यो अपर्याप्त भएको भन्दै थप गुणात्मक सुधार गर्न निर्देशन दिएका थिए।