आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल–ओमान सचिवस्तरीय वार्ता, साझेदारी र सहकार्य गर्न दुवै देश सहमत

सोमबार, मंसिर ३० २०७६

ओमानं (जस)–नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् । ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा सोमबार भएको वार्तामा परराष्ट्र सचिव शङ्करदास वैरागी र त्यहाँका महासचिव वद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच सौहाद्र्रपूर्ण वातावरणमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव वैरागीले नेपालमा वैदेशिक लगानीका निम्ति उपयुक्त वातावरण तयार भएको, कानूनी तथा नियमन व्यवस्था सहज एवं सरल तुल्याइएको जानकारी दिँदै भौतिक पूर्वाधार, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न ओमानलाई आग्रह गरे । उनले नेपाल र ओमानबीच श्रमिक आपूर्ति तथा पर्यटन प्रवद्र्धनका निम्ति भएको समझदारीका साथै कूटनीतिक र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा आवश्यक नपर्ने व्यवस्थाबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुगेको बताए ।
ओमानका विदेश सचिवले सन् २०१७ मा नेपालका प्रधानमन्त्रीबाट भएको ओमान भ्रमणको स्मरण गर्दै सचिव वैरागीले लगानीलगायत पारस्परिक सहयोग र साझेदारीका निम्ति गरेको अनुरोधलाई सकारात्मक रुपमा लिएको बताए । नेपालसँग आर्थिक साझेदारीका साथै लगानीको आश्वासन पनि उनले दिए ।
मस्कटमा नेपाली राजदूतहरूको बैठक
ओमानको राजधानी मस्कटमा ‘भिजिट नेपाल २०२०’ लाई लिएर नेपाली राजदूतहरूको क्षेत्रीय बैठक आयोजना भएको छ । बैठकमा गल्फ को–अपरेसन काउन्सील (जिसिसि) र मध्यपूर्व तथा उत्तर अफ्रिकी राष्ट्र (एमइएनए) का सदस्य रहेका विभिन्न राष्ट्रका लागि नेपाली राजदूतहरू सहभागी थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागी र पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि सहभागी रहेका थिए ।
बैठकमा ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, इजिप्टको लागि नेपाली राजदूत झविन्द्र अर्याल, युनाईटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्ण ढकाल, इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्य, पाकिस्तानको लागि नेपाली राजदूत सेवा लम्साल, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज, साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रताप सिंह राजपूतको उपस्थिति थिए । बैठकमा नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनको लागि सबैले आ–आफ्नो स्थानबाट मिलेर काम गर्नेमा सबैको एकमत रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार