जनकपुरधाम/ धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
शुक्रबार राति करिब पौने १२ बजेको समयमा महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको बम बिस्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।
बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।
बम विष्फोटबाट शुक्रबार राति अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो ।
यस्तै, घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ ।