जनकपुरधाम / धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् ।
विष्फोटबाट मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार राति करिब पौने १२ बजेको समयमा महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको बम बिस्फोट भएको हो ।
घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।
उनीहरुको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । चारै जनाको अवस्था गम्भीर छ ।
प्रहरीले विष्फोट कसले र किन गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।