काठमाडौं (जस)– बिदेश जाने कामदारसँग अवैध रुपमा लाखौं रुपैयाँ असुल्ने रसुवा ओभरसिजमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
सिनामङ्गलस्थित रसुवा ओभरसिजले टिकट र भिषा शुल्कसमेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको र इजाजतपत्रवालाले समेत सोही बमोजिम विज्ञापन समेत गरेको संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार छापा मारेको थियो । विभागले सो मेनपावरमा छापा मार्दा दुई जना कामदारसँग रु एक लाख पचासी हजार रुपैयाँ वुझिसकेको अवस्थामा रङ्गेहात फेला पारेको र नगद रकम वरामद गरेको विभागले जानकारी दिएको छ ।
सो मेनपावरले दुवईको तामायाज इम्प्लोइमेन्ट सर्भिसेसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजार माग गरिरहेको भनी सुरेन्द्र राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो ।
विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट रु ७० हजार, सन्त वहादुर गरञ्जा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकमसहित रङ्गेहात फेला पारेको हो । अन्य तीन जनासँग यस भन्दा अघिनै जितवहादुर वमजनले नगदै रु पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार मेनपावर कार्यलय वोलाएका थिए ।
रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति आइसकेको अवस्थामा मेनपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाई टिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ । विभागको टोलीले पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको वढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएको छ । पाँचै जनालाई वुधवारको टिकट मेनपावरले उपलव्ध गराएको छ । थप अनुसन्धानको लागि रकम वुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको विभागले जानकारी दिएको छ ।