काठमाडौं(जस)–काठमाडौंको भाटभटेनीस्थित लक्ष्मी बैंककी म्यानेजर पूजा शाहले सरकारी जग्गालाई बेच्ने धन्दामा आफ्नै ग्राहकसँग पार्टनरशिप गरेको प्रमाण फेला परेको छ । वीरगञ्जको छपकैयामा चार बिघा क्षेत्रफलमा फैलिएको सरकारी पोखरी आफ्ना ससुराले आफ्नो नाममा दर्ता गराउन सफल भएपछि एउटै जग्गा पटक पटक बेच्ने काममा मेनेजर शाहसमेत संलग्न भएको प्रमाण जनसवाल दैनिकले फेला पारेको हो । छपकैया पोखरी परापूर्वकालदेखि सरकारी थियो । तर, विस २०४८ सालमा बैंकर शाहका ससुरा पूर्व साहेव प्रमोदविक्रम शाहले नापीका तत्कालिन हाकिम साविर हुसेनलगायतका व्यक्तिहरुलाई प्रलोभनमा पारेर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको आरोप स्थानीयहरुको छ । हाल उक्त जग्गा पुनः सार्वजनिक बनाउने प्रक्रिया बीरगंज नगरपालिकाले थालिसकेको छ ।
जनसवाल दैनिकलाई प्राप्त प्रमाण अनुसार बैंकर शाहले उक्त सरकारी जग्गा बेच्नेगरी करार गरिएको देखिन्छ । पोखरीमा माटो भरेर बेच्ने पार्टनरशिपमा भएको करार अनुसार काम गर्दै गर्दा उक्त जग्गा सरकारी भएको देखिएपछि आफु ठगिएको थाहा पाएर करार पक्षका एक रुद्र प्रसाद तिमल्सिनाले करारको प्रथम पक्ष पूजा शाहका ससुरा प्रमोद विक्रम शाहविरुद्ध मुद्धा हालेपछि यस्तो रहस्य बाहिरिएको हो ।
उक्त करारमा लक्ष्मी बैंककी ब्रान्च मेनेजर पूजा शाह साक्षी बसेकी छिन् । करारमा दोश्रो पक्षको लगानी डुबेमा दश करोड रुपैयाँ क्षतिपूर्ति दोश्रो पक्षले पाउने उल्लेख छ । प्रमोदबिक्रम शाहले आफ्नो जग्गामा माटो भरी बेच्ने र नाफा बाँड्ने भन्दै उनीसँग सो कार्यका लागि पार्टनरशिप गरेका थिए । आफुले लक्ष्मी बैंकमा पैसा डिपोजिट गर्न जाँदा पूजा शाहले उक्त पैसा बैंकमा राख्नुभन्दा आफ्नो एउटा काममा पार्टनरशिप गरे राम्रो फाइदा हुने भन्दै उक्त रकम लिएर सो काममा पार्टनरशिप गराएको तिमल्सिनाको दावी छ । सोही सम्झौता अनुसार तिमल्सिनाले पूजा शाहलाई पैसा दिएका थिए । तिमल्सिनाको एनआइसी एशिया बैंकमा रहेको खाताको स्टेटमेन्ट हेर्ने हो भने पूजा शाहले पैसा लगेको स्पष्ट देखिन्छ ।
बैंकर शाह र रुद्र तिमल्सिनाबीच संयुक्त खातासमेत खोली यस करार अनुसार काम गरेको देखिन्छ । यो बीचमा पूजा शाहले हस्ताक्षर गरेको चेक बाउन्स भएकोसमेत देखिन्छ । बैंकरकै चेक बाउन्स हुनु नैतिक हिसाबले लाजमर्दो कुरा हो । उनले २०१८ मार्च १४ तारिखका दिन रंजन मिश्रका नाममा खिचेको चेक बाउन्स भएको पाइएको छ । त्यसमाथि बैंककै तलव खाएर बैंकका खातावालासँग पार्टनरशिप गर्नु पनि नैतिक काम नभएको जानकारहरुको ठम्याई छ । त्यसमाथि सरकारी जग्गालाई किनबेच गर्ने काममा उनी लागेको देखिन्छ । बीरगंज महानगरपालिकाको चलानी नम्बर ५५०३र ०७५र०७६ ले भुमि व्यवस्था सरकारी तथा गरिवी निवारण मन्त्रालयलाई लेखेको पत्रमा छपकैया पोखरीलाई पुनः सार्वजनिक गर्ने व्यहोरा उल्लेख छ । बैंकर शाहका ससुराले विभिन्न व्यक्तिलाई प्रभावमा पारी सो जग्गा आफ्नो बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए । त्यसपछि महानगरपालिकाले उक्त जग्गालाई पुनः सार्वजनिक गर्ने प्रक्रिया थालेको थियो ।
यस विषयमा पूजा शाहलाई सोध्दा उनले यस प्रकरणमा आफुलाई जोड्दा आफ्नो मानवअधिकार हनन भएको प्रतिक्रिया संचारमाध्यमहरुलाई दिने गरेकी छिन् । जनसवाल दैनिकले उनलाई सम्पर्क गर्न खोज्दा भने उनीसँग सम्पर्क हुन सकेन । तर स्थानीय बासिन्दाले भने सरकारी जग्गालाई आफ्नो बनाउने, आफ्नै ग्राहकसँग पार्टनरशीप गरेर ठगी गर्नेहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।
