काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुषालसँग भेटघाट गरेका छन् । भेटमा वैदेशिक रोजगार क्षेत्रका समस्याबारे छलफल भएको संघले जनाएको छ । संघका अध्यक्ष विष्णुप्रसाद गैरेको नेतृत्वमा व्यवसायीको टोलीले सोमबार महानिर्देशक भुषाललाई भेट गरि विभागले तीन महिना भित्र मेनपावर कम्पनीका फाईलसहित सबै कागजपत्रको विद्युतीय प्रति तयार पारी सेवाग्राही र कर्मचारीबीच हुन सक्ने अनुचित लेनदेन हटाई पूर्व स्वीकृति अनलाईबाट प्राप्त गर्ने, पेशा व्यवसाय गर्ने नागरिकको संवैधानिक अधिकार भएकाले वैदेशिक रोजगार व्यवसायीले अभिमुखीकरण तालिम व्यवसाय लगायत अन्य पेशा व्यवसाय निर्वाद रुपमा गर्न पाउनुपर्ने विषयमा छलफल भएको संघले बताएको छ ।
यस्तै वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायसँग नयाँ निर्णय गर्दा वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था संघसँग छलफल भएका ती निर्णय कार्यान्वयनमा सहज हुने भन्दै संघले समस्या समाधानका लागि संघ परामर्श, सम्वाद र सहकार्यमा विश्वास गर्ने भएकाले विभागका नीति निर्णयमा व्यवसायीलाई अपनत्वको भाव सिर्जना भए त्यसले सकारात्मक परिणाम ल्याउन संघको सुझाव रहेको छ । संघले विभागमा दर्ता रहेका सबै ८ सय ५४ व्यवसायीहरुलाई अनुशिक्षण तालिम प्रदान गरिनुपर्ने, राष्ट्र बैंकले जारी गरेको दश लाख भन्दा माथिको कारोवारमा बैकिङ प्रणालीबाट गर्ने व्यवस्था भएपनि विभागले जुनसुकै कारोवार बैंक माार्फत गर्न बाध्य पार्दा त्यसले कामदार र व्यवसायी दुवैलाई झन्झट पार्ने भन्दै विभागको ध्यानाकर्षण गरेको छ ।
विभागले जारी गरेका प्रमाणपत्र लगायतका कागजात विभाग र मातहत कार्यालयमै रहने भएकाले पटक पटक व्यवसायीहरुलाई कागजात मागेर झन्झट दिन नहुने, विभागको कार्य सञ्चालनमा मन्त्रिपरिषद्बाट पारित कार्य सञ्चालन निर्देशिका वहाल रहेको अवस्थामा हाल आएर थप २४ प्रकारका कागजात मागिनु औचित्य पूर्ण नरहेको भन्दै संघले यी विषयमा कम झन्झट हुने गरी संशोधन गर्न समेत माग गरेको छ ।
व्यवसायीको पत्र बुझेपछि महानिर्देशक भुषालले आफु पारदर्शी तथा मर्दादित प्रशासनका पक्षमा रहेकोले सबै पक्षको सुझाव र सल्लाह लिएर अघि बढ्न तयार रहेको बताए । उनले आफुले थालेको सुधारको प्रयासमा हातेमालो गर्न संघलाई आग्रह गरेका थिए ।