मंसिर ८, काठमाडौं । नेपाल निर्माण व्यवसायी संघले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आन्दोलनरत महासंघले आइतबार ऐन नियमावली संशोधन तथा खारेजीका विभिन्न २५ बुँदे माग अघि सार्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । यसअघि विभिन्न मागहरु राखी ज्ञापनपत्र मार्फत सात दिने अल्टिमेटम सहित विभिन्न सरोकारवाला निकायहरुमा ध्यानाकर्षण गराएको महासंघले कुनैपनि सुनुवाई नभएपछि गएको मंसिर ४ गते राजधानीमा देशभरबाट आएका करिब ५ सय निर्माण व्यवसायीहरुको सहभागितामा राष्ट्रिय भेला गरेको थियो ।
उक्त भेलाबाट पारित भएका पहिलो चरणको आन्दोलन तथा संघर्षका कार्यक्रम अन्तर्गत मंसिर ९ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा एक हप्तासम्म १ घण्टा र प्रत्येक हप्ता १÷१ घण्टाका दरले धर्नाको समय बढाउँदै लैजाने रहेको छ । त्यस्तै मंसिर १० गतेदेखि महासंघ, प्रदेश महासंघ, जिल्ला संघहरु, निर्माण व्यवसायी फर्म कम्पनीहरुको कार्यालयमा विरोध स्वरुप कालो झण्डा राखिने र कालोपट्टी बाँधेर निर्माण व्यवासाय वा सोसँग सम्बन्धित व्यवसायीहरुले आ–आफ्नो कार्यालयमा कालोपट्टी बाँधेर र यन्त्र उपकरणमा समेत कालोझण्डा राख्ने निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले जानकारी दिए ।
यति गर्दा पनि आफ्ना माग पुरा नभए महासंघले दोस्रो चरणका कार्यक्रम सुरु गर्नेछ । सो अन्तर्गत माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण रुपले प्रदर्शन गर्ने, वर्ग अनुसार चरणवद्ध रुपमा इजाजत पत्र सरकारलाई बुझाउने, हेभी इक्युप्मेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्ण रुपमा बहिस्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्ण रुपले ठप्प पार्ने तथा अन्दोलनका थप स्वरुपहरु महासंघको निर्णयानुसार परिमार्जन गरिने बताइएको छ ।