पोखरा(जस)–नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले आशन्न उपनिर्वाचनमार्फत वर्तमान सरकारलाई सच्याउनुपर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ मा आयोजित चुनावी सभामा सभापति देउवाले काँग्रेसले उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने बताए । वर्तमान सरकारले एकपछि अर्को गर्दै जनताका हकअधिकार कुण्ठित गर्दै गएको उल्लेख गर्दै उनले न्यायालय, स्वतन्त्र प्रेसका साथै संवैधानिक अङ्गमा हस्तक्षेप गरिहेको आरोप लगाए । “जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि यस निर्वाचनमा काँग्रेसले जित्नुको विकल्प छैन”, सभापति देउवाले भने ।
सभापति देउवाले त्यागी र सादगी नेता खेमराज पौडेललाई कास्की क्षेत्र नं २ मा उम्मेदवारका रुपमा अघि सारेर पार्टीले उनप्रति न्याय गरेको बताए । “पौडेललाई न्याय दिने जिम्मेवारी कास्कीका जनताको काँधमा आएको छ”, उनले भने । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने धोकेवाज कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने आरोप लगाए ।
“अनेक पुलिन्दा र भ्रम छरेर अघिल्लो चुनाव जिते पनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेका छन्”, उनले भने । काँग्रेस उम्मेदवार पौडेललाई अत्यधिक मत दिएर जिताउन उनले आग्रह गरे । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले कम्युनिष्ट सरकार मुलुकलाई भेनेजुयला र रुवाण्डा बनाउन लागि परेको आरोप लगाए । सरकार मुलुक र जनताको हितका साथै लोकतन्त्र, संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता कुनैको हितमा नरहेको उल्लेख गर्दै उनले यसलाई सच्याउनका लागि पनि यो चुनाव काँग्रेसले जित्नुपर्ने बताए ।
केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले दुःख गरेर बनाएको राज्यकोषमा वर्तमान सरकार ब्रम्हलुट मच्चाउन उद्धत रहेको आरोप लगाए । युवा नेता गगनकुमार थापाले स्व रवीन्द्र अधिकारीको सपना पूरा गर्नका लागि नेकपालाई भोट दिने हो भने त्यो उन प्रतिको अपमान हुने बताए । नेपाली राजनीतिमा इमान्दार र निष्ठावान नेताको खाँचो रहेको अवस्थामा पौडेललाई जिताएर त्यसको सन्देश देशभरी दिनुपर्ने नेता थापाले उल्लेख गरे ।
उम्मेदवार पौडेलले आफू सधैँ कस्केली जनताको साथमै रहेकाले मत दिएर जिताउन आग्रह गरे । जितेर गएपछि पनि सधैँ जनताकै साथमा हातेमालो गर्दै अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्का, कास्की काँग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले सरकारलाई सही बाटोमा हिँडाउनु काँग्रेसको दायित्व भएको बताए । सो अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय वामपन्थी नेता माधवप्रसाद पराजुली, ईन्द्रमान सिलवाल, सरु थापा, निर्मला थापालगायत काँग्रेसमा प्रवेश गरेका थिए ।
पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि
चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमीन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै नभएर समग्र पार्टीलाई नै बलियो बनाउने विश्वास व्यक्त गरे । नेपालमा भएको हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै उनले परिवर्तन संस्थागत गर्नका लागि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने बताए ।
उपसभापति निधिले गएको निर्वाचनमा काँग्रेसको हारका कारण खोज्नुभन्दा अहिले एक भएर लाग्नु आवश्यक रहेको बताउँदै अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले अब जनताको पक्षमा काम गर्ने जिम्मेवारी काँग्रेसको रहेको बताए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृतराज हमाल, स्थानीय कपिल आले, सुदन पौडेल लगायतले बोलेका थिए । नेपाली काँग्रेसका वडा सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा पार्टी परित्याग गरी विभिन्न व्यक्तिले पार्टी प्रवेश गरेका थिए ।
कूटनीतिक पहलबाट सीमा विवाद सामाधान गर्नुपर्छ : प्रवक्ता शर्मा
लमही । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । दाङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्शा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताए ।
“सरकारकै नेतृत्वमा यस विषयमा संवाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ”, शर्माले भने । उनले काँग्रेस सरकारमा रहेका बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पारे ।
“अहिले मुलुकमा दुई तिहाइको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एक ठाउँमा उभिएका बेला सीमा विवाद मिलाउनुपर्छ”, उनले भने, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन ।”