काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको निवेदनको सुनुवाइ गर्दै ‘कैफियत’ प्रतिवेदन मगाउने आदेश भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
आफूलाई कानून विपरित पुर्पक्ष थुनामा राखिएको दाबी गर्दै महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमा जिल्ला अदालत काठमाडौंले पुर्पक्ष थुनामा राख्ने भनी गरेको आदेश बदर हुनुपर्ने माग छ ।
महराको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालतले आदेश दिँदाको आधार र सक्कल मिसिल पठाउन आदेश दिएको हो।
जिल्ला अदालतले आदेश अनुसारको प्रतिवेदन पठाएपछि मुद्दाको थप सुनुवाइ हुनेछ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
महरा अहिले सदरखोर डिल्लीबजार जेलमा छन्।