एनआरएनए मध्यपूर्व संयोजक गुरुङलाइ तमुको नयाँ ईतिहास रचेको भन्दै विशेष सम्मान

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक प्रवीन गुरुङ आफ्नै कर्मभूमि कतारमा सम्मानित भएका छन् । तमु समाज कतारले एक भव्य कार्यक्रमकावीच कतारमा स्थापित सफल युवा व्यवसायी गुरुङले आफ्नो पहिचानसगैँ तमुको नयाँ ईतिहास रचेको भन्दै सम्मानित गरेको हो । गुरुङ परम्परा अनुसार तमु समाजले विशेष कार्यक्रमका विच गुरुङकी धर्मपत्नी सरिता गुरुङसहित फुलमाला र खादाले सम्मानित गरेका थिए ।

भरतपुर महानगरपालिका गुन्जनगरमा घर भएका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाएका छन् भने उनले कतारमा २२ वटा भन्दा बढी कम्पनी संचालन गरिरहेका छन् । साथै, उनी कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली पनि हुन । उनले यसअघि नेपाल आईडलको ग्रयाण्ड फाईनल र भ्वाईस अफ नेपालको ग्राण्ड फिनाले कार्यक्रम समेत कतारमा आयोजना गरिसकेका गिए । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।

पृथक सोँच र भिन्न पहिचानका साथ गुरुङको छोरो प्रवीन विगत भन्दा फरकशैलीका साथ आफ्नो सामाजिक छविलाई थप उचाईमा पुरयाउन सफल रहेको भन्दै सम्मान कार्यक्रममा सहभागी तमुहरूले शुभकामना दिएका थिए । सो अवसरमा बोल्दै संयोजक गुरुङले तमुहरूबाट पाएको सम्मानलाई थप उचाईमा पुराउदै सामाजिक सेवामा थप सक्रिय बन्ने प्रतिवद्धता जनाए । छिटै रचनात्मक नयाँ खालको कार्यक्रम ल्याउने बताए ।