काठमाडौं(जस)–केही समययता निकै चर्चामा रहेको प्रधानमन्त्री खड्गप्रसाद (केपी)शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद हेरफेरको विषय सोमबार पनि निष्कर्षविहिन बनेको छ । ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि सत्तारुढ नेकपाभित्र छलफल भने थप तीव्र भएको छ । सम्भावत मंगलबारै नभए केही दिनमै मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने गरी नेकपामा गृहकार्य भइरहेको नेकपाका एक नेताले बताए । नेपाल नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिइसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुर्नगठन गर्न सैद्धान्तिक सहमति दिएसँगै बिदाइ गर्ने मन्त्री र नयाँ मन्त्रीबारे बालुवटार र खुमलटार केन्द्रित छलफल तीव्र भएको हो । मन्त्रिपरिषद् पुर्नगठन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको तीन घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएको स्रोतले बताएको छ । सोमबार साँझ ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा दुबै अध्यक्षको बैठक बसेको तर खास कुरा अघि नबढेको बालुवाटार निकट स्रोतले बतायो ।
आफ्नो सचिवालयका ६ जना सदस्यलाई बिदाइ गरेका प्रम ओलीले मन्त्रीहरु फेर्न यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । बालुवाटार–खुमलटार मन्त्री परिवर्तन तयारी भएपछि नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादीमा धेरै आकांक्षीहरु देखिएका छन् । त्यहीकारण सोमबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार केही दिन धकेलिन सक्ने स्रोतले जनाएको छ । नयाँ आकांक्षी र बिदाइ गर्ने मन्त्रीको नामबारेमा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि छलफल भएको थियो ।
प्रधानमन्त्री तथा पार्टीका अन्य शीर्ष नेताहरुसँग सम्पर्कमा रहेका नेताहरुले प्रधानमन्त्री ओलीले मंगलबार नै पुर्नगठनको विषय टुंग्याउन चाहेको बताएका छन् । ‘मंगलबार नै पुनर्गठन गर्ने गरि प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु अन्तिम चरणको परामर्शमा हुनुहुन्छ,’ नेकपाका एक नेतार्ले बताए । यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मंगलबार बिहान फेरि एकपटक बसेर अन्तिम गृहकार्य गर्ने तयारी छ ।
त्यसैगरी सोमबारै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मन्त्रिपरिषद् हेरफेरबारे खुमलटारमा छलफल भएको स्रोतले जनाएको छ । फेरिने मन्त्रीको सूचीलाई अन्तिम रुप दिने तयारीमा प्रधानमन्त्री लागेका छन् । उनले यसका लागि उनले कम्तीमा ५ जना मन्त्री फेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जुटाएको स्रोतको दाबी छ । पाँचजना हट्दा तत्कालीन एमालेबाट ३ जना र तत्कालीन माओवादी केन्द्रबाट कम्तीमा २ जना हुनेछन् । प्रधानमन्त्री ओलीले समेत मन्त्रीहरुको कार्यशैलीप्रति पटक पकट असन्तुष्टि जनाइसकेका छन् ।
यसैबीच अहिले नयाँ मन्त्रीका लागि घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, वसन्त नेम्वाङलगायत नेताहरु चर्चामा छन् । त्यस्तै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई समेत मन्त्री बनाउने चर्चा रहेको छ । त्यस्तै लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरूङ, महेश बस्नेत, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको समेत चर्चा रहेको छ । यसै बीच कुन कुन मन्त्री बाहिरिन्छन् भन्नेमा अझै अन्योल नै रहेको छ । कार्यसम्पादन कमजोर हुने बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि पशुपंक्षीमन्त्री चक्रपाणि खनाल बलदेव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगरलगायत छन् ।