काठमाडौँ(जस)–नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो पुरस्कार सर्जक मानन्धरलाई अर्पण गरे । करिब पाँचदशकदेखि अविछिन्नरूपमा विभिन्न रङमा पोख्त सर्जक मानन्धरले कला सिर्जना गरिरहेका । उनले सिर्जना गरेको कलाका विविध सौन्दर्यले नेपाली कलालाई अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट चिनारी दिइराखेको छ ।
माछापुच्छ«े हिमाल र फेवातालको मनमोहक कलालाई विभिन्न रङले चित्रमा उतार्न औधी खप्पिस कलाकार कायस्थ मोफसलमा अग्रणी कलाकार छन् । समुद्रको तटदेखि हिमालपारिसम्मको चित्रकला समेट्ेका कलाकार कायस्थका कला स्वदेश र विदेशमा गरी हालसम्म १२आँै पटक प्रदर्शनी भइसकेका छन् । कार्यक्रममा शताब्दीपुरुष जोशीले भने, “विशेषगरी पोखराको सौन्दर्यलाई चित्रकलाका माध्यमबाट कलाकार कायस्थका सिर्जनाले अतुलनीयरूपमा चिनाएका छन् । उनका कलाकारितालाई कलाका पारखीले त चिनेका छन् । अब सरकारले चिन्न सक्नुपर्छ ।” उनले आधुनिक चित्रकलामा इतिहास सटिकरूपमा लेख्न आवश्यक रहेकोमा जोड दिए ।
पुरस्कृत व्यक्तित्व मानन्धरले प्रकृति, हिमाल र जलको उत्कृष्ट सङ्गमस्थल पोखरामा रही कलाकार कायस्थले सिर्जना गर्नुभएको कला आधुनिक पुस्ताका लागि विश्वविद्यालय बन्न सक्ने चर्चा गर्दै आफू पहिलो पटक काठमाडौँदेखि पैदल हिँडेर पोखरा पुगेको स्मरण गरे । पूर्व मुख्यसचिव केशवराज राजभण्डारीले कलालाई जीवनको सौन्दर्य र जीवनको सौन्दर्यलाई कलामा ढाल्न आफ्ना बालसखा कलाकार कायस्थ खप्पिस रहेको टिप्पणी गरे ।
नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कलाकार कायस्थका कलाले पोखराको सौन्दर्यका साथमा मानवीय जीवनका विविध क्षेत्रलाई सटिकरूपमा उतारेको छ भने । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर गुरुङले कलाको माध्यमबाट जीवनलाई उत्साहित बनाउन कलाकार कायस्थका कलाले जोड दिएको चर्चा गर्दै प्रतिष्ठानले पहिलोपटक वरिष्ठ कलाकार मानन्धरलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए ।
राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एवं कलासमीक्षक सूर्यचन्द्र बस्नेतले भने, “प्रकृतिका अनुपम छटा, मानवीय संवेदना र जीवन जगतका आयमलाई सूक्ष्मरूपमा चित्रकलमा उतार्न कलाकार कायस्थ सिपालु छन्, उनका सिर्जना यसै सेरोफेरोमा छन्, उत्कृष्ट छन् ।” अर्का कलासमीक्षक सु्ष्मा राजभण्डारीले चित्रकलालाई निरन्तरता दिन सजिलो नुहँदा पनि मोफसलमा रही कलाकार कायस्थ निरन्तरत छ दशकदेखि यसैमा तल्लिन हुनु पोखरा र देशमा लागि गौरवको विषय हो भने । कलाकार कायस्थका १३ आँै चित्रकला प्रदर्शनी आइतबारदेखि बुधबारसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु भएको छ ।