बिहिबार, कार्तिक २८ २०७६
काठमाडौँ(जस)– राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच बुधबार अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा उनलाई धन्यवाद दिएकी थिइन् । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताईन ।
बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरण गरेका थिए । बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए । नेपाल भ्रमण गर्ने निम्ता दिएकोमा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनका बङ्गलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे । सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।
बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको शिष्टाचार भेट
यसैगरी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले बुधबार अपराह्न शिष्टाचार भेट गर्नुुभएको छ । त्यस अवसरमा उनहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । बुधबारै राष्ट्रपति हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शिष्टाचार भेट गरे । भेटमा उनहरूबीच विद्यमान पारस्परिक सम्बन्धका सबै पक्षबारे छलफल भएको थियो । दुई देशबीचको विद्यमान घनिष्ठ एवम् परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्ने विषयमा पनि उनहरूबीच गहन रुपमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । मन्त्री ज्ञवालीका अनुसार बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले हरसम्भव सहयोग गर्ने वचन प्रधानमन्त्रीलाई दिएका थिए ।

दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका विविध विषयमा पनि उनहरूबीच विचारविमर्श भएको थियो । नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग गर्दै नेपाली उत्पादनलाई बङ्गलादेशी बजारमा पु¥याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा जोड दिइएको थियो । प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न सके यहाँ उत्पादन हुने ऊर्जा बङ्गलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत गराए ।
भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो । “बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपतिले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएका थिए । नेपालप्रति उनले कृतज्ञता पनि प्रकट गरेका थिए ।
राष्ट्रपति हमिदसँग अध्यक्ष दाहालको भेट
चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए । नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालले निर्वाह गरेकोभूमिकाको उनले खुलेर प्रशंसा गरे । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेको रिजालले सञ्चारकर्मीलाई जानकारी दिए ।
बङ्गलादेशका राष्ट्रपति नेपालसंग आर्थिक साझेदारी बढाउने पक्षमा
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा छन् । बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार गरेकोशिष्टाचार भेटमा उनले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका हुन् । सम्मानित विशिष्ट अतिथि राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा छन् ।अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे बारे जानकारी दिँदै दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवद्र्धनका विषयमा कुराकानी भएको बताए ।
तिमिल्सिनाका अनुसार दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुबै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुबै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो । व्यापार घाटा कम गर्न ऊर्जाको ब्यापार प्रवद्र्धन गर्ने कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरूको भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रुपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिएका थिए ।
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
यसैगरी नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिए । भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गरेका थिए । प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताएको डा खड्काले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका थिए । बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुशी व्यक्त गर्दै योगदान पु¥याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराएका थिए । राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा छन् । उनले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार आएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्कनेछन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij