सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ज्योति पक्राउ परेपछि व्यवसायिक क्षेत्र त्रस्त, नीजि क्षेत्रको विरोध

मंगलबार, कार्तिक २६ २०७६

काठमाडौं । मुलुकको प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा रुपज्योति र उनकी छोरी सुरुची ठगी आरोपमा पक्राउ गरेसँगै व्यवसायिक क्षेत्र त्रस्त बनेको छ । यस्तै प्रहरीले समूहका अध्यक्ष पदम ज्योतिलाई पनि पक्राउ गर्ने तयारी गरेसँगै नेपालको समग्र औधोगिक र व्यवसायिक क्षेत्र आतंकित बनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्योतिलाई पक्राउ गर्न अनुमति पाएसँगै उनी पक्राउ पर्ने सम्भावना उच्च देखिएको हो । काठमाडौं जिल्ला अदालतले व्यवसायी पदमज्योतिलाई सोमबार पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहिसकेका पदमज्योति राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का अध्यक्ष समेत हुन् । उनी पहिलो संविधानसभामा तत्कालीन माओवादीको सिफारिसमा सभासद बनेका थिए ।
लेनदेनसम्बन्धी विवाद भए पनि प्रहरीले ठगी मुद्दामा ज्योतिलाई पक्राउ गरेपछि निजी क्षेत्रले सरकारको नियतमाथि प्रश्न उठाएको हो । लेनदेनसम्बन्धी विवादमा देवानी कानुनअनुसार मुद्दामामिला चल्छ, जसमा विवादमा संलग्नलाई पक्राउ गरिन्न । ज्योतिले पक्राउ पुर्जी जारी भएको थाहा पाउँदा पाउँदै आफू नेपाल आएको, आफूमाथिको अभियोगसँग सम्बन्धित प्रमाण समेत नष्ट गर्ने सम्भावना नरहेको र देश छोडेर भाग्ने पनि नभएकाले आफूलाई हिरासतमा राख्नुपर्ने अवस्था नभएको जिकिर गरेपनि अदालतले ज्योतिलाई ५ दिनका लागि थुनामा राख्न अनुमति दिएको थियो ।
ज्योति पक्राउ परेसँगै नेपाल उद्योग वाणिज्य महासंघले हजारौँलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्वसमेत बुझाउँदै आएको मुलुकका प्रतिष्ठित उद्योगपतिमाथि विनासोचविचार हतारहतार गरिएको पक्राउले निजी क्षेत्र हतोत्साहित भएको उल्लेख गरेको छ । यस्तै नेपाल चेम्बर अफ कमर्सले विदेशबाट घर फर्कँदै गर्दा एयरपोर्टबाटै ज्योति र उनकी छोरी कुनै अपराध प्रमाणित नभई उजुरीकै भरमा पक्राउ पर्नुले निजी क्षेत्र मर्माहत भएको उल्लेख गरेको छ । कानुन परिपालनका क्रममा निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न चेम्बरले आग्रहसमेत गरेको छ ।
यसैगरी राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) का महासचिव सुरेन्द्रवीर मालाकारले विज्ञप्ति जारी गर्दै ज्योतिको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘जाहेरीमा उल्लिखित व्यहोराबमोजिम दुई पक्षबीच लेनदेन कारोबार भएको र पहिले नै विवाद भई सम्मानित अदालतमा धरौटी रकमसमेत राखिसकिएको बुझिँदा सो आधारमा निजहरूलाई थुनेरै अनुसन्धान गर्नुपर्ने गम्भीर प्रकृतिको ठगी मुद्दा हो भन्ने लाग्दैन ।’ यस्तै ज्योतिको पक्राउप्रति नेपाल–चीन उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । ‘नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै मुलुकमा लगानी विस्तार, औद्योगीकरण तथा व्यापार प्रवर्द्धनमा समेत ज्योतिको ठूलो योगदान रहेको छ,’ संघका महासचिव विवेक पौडलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विवाद समाधानको वैकल्पिक उपाय हुँदाहुँदै पनि ज्योतिलाई पक्राउ गर्ने तथा म्याद थप गरी थुनामा राख्ने कार्यले निजी क्षेत्र हतोत्साहित भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार