काठमाडौं, वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा पेशा फरक परेको कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको भन्दै एकरुपता ल्याउन शुरु गरेको कार्यप्रति वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरु र बिभिन्न संघ सँस्थाहरुले बिरोध जनाएका छन् ।
बैदेशिक रोजगार विभागले मंगलबार खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई पत्र पठाउँदै नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभाग अन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको बताउदै पेशाको प्रमाण पत्र लिएर मात्र नेपाल आउन एक सुचना जारि गरेको थियो । विभागको उक्त आग्रह प्रति प्रतिक्रिया जनाउँदै विगत लामो समयदेखि विदेशमा कार्यरत कामदारहरु र यहा रहेका संघ सँस्था हरुले विभागले अगाडी बढाएको कार्यको तिब्र बिरोध गर्दै तत्काल कार्यान्वयनमा नल्याउन माग गरेका छन् । विभागले तत्कालैदेखि विदेशमा गरेको कामको आधिकारीक प्रमाणपत्र खोज्ने शैलीले धेरै नेपालीले विदेशमा पाएको आकर्षक रोजगारी गुम्ने उनीहरुले बताएका छन ।
नेपाली दूतावास कतारबाट सम्प्रेषण गरिएको सुचना प्रती श्रमिक बर्गहरुले गरेको जनगुनासोलाई मध्यनजर गर्दै प्रबासी नेपालि एकता मंच कतारका अध्यक्ष चानक पोखरेलले तत्काल यो लागु नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपाल सरकारले प्रबासमा रहेका आम नेपाली श्रमिकहरुले हासिल गरेको ज्ञान र सिपको तथ्यांक संकलन गर्नका लागि नया बिधि अपनाएकाले तत्कालका लागि सहजै कार्यान्वयन गर्न असम्भव छ पोखरेलले भने । उनले जनताको मर्मलाई आत्मसाथ गर्दै नेपाल सरकारको श्रम मन्त्रालयले यी बिषयलाई परिमार्जन गर्नु अहिलेको आवश्यकता भएको बताए । पोखरेलले श्रमिकहरुले आर्जन गरेको सीपलाई तथ्यांकमा समेट्न कुनै समस्या नहोला तर आफ्नो करार अबधि पश्चात् नया भिसा लगाएर नेपाल गएकालाइ सहजै रुपमा श्रम गर्न दिनुपर्ने बताए । यी बिषयमा रोक लगाउदा अझै बढी समस्या सृजना हुनसक्ने, श्रमिकहरुले दुख पाउने भएकाले तत्काललाई रोक्न पोखरेलले अनुरोध गरे ।
हाल कतारमा रहेका एनआरएनए आईसिसि सदस्य रमेश भट्टले नियत सही भएपनि व्यवहारिक रुपमा तत्काल लागू गर्न यो सहज नभएको बताए । उनले यसबारेमा नेपाली नियोग पनि अनबिज्ञ नभएको बताए । यदि सरकारले यसलाई जबर्जस्ति लागू गर्न चाहने हो भने हजारौं युवाले रोजगारी गुमाउने निश्चित भएको भट्टले दाबि गरे ।
बैदेशिक रोजगार विभागले विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा, नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै उक्त आग्रह गरेको थियो । विभागको आग्रहपछि कतारस्थित नेपाली दूतावाससहित अन्य देशका दुताबासले विज्ञप्ति मार्फत नेपाल जानु अघि आफ्नो कम्पनीबाट आफुले गरिरहेको कामको प्रमाणपत्र लिन नेपालीहरुलाई अनुरोध गरेको थियो ।
विभागले कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति दिन असम्भव हुने बताएको छ तर यो नियम लागु भए धेरै नेपालीको रोजगारी गुम्ने पोखरेल बताउछन ।