शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

प्रदेश प्रमुखहरुबाट पदभार ग्रहण

बिहिबार, कार्तिक २१ २०७६

पोखरा(जस)–नवनियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मङ्गलबार शपथग्रहण लिनुभएका शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता जोगाउनका लागि सबै नेपाली एक हुनुपर्ने बताए । सङ्घीयताको सफल कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता भएको आँैल्याउँदै उनले परिवर्तित व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीयता नेपालको मौलिकता भएको उल्लेख गर्दै उनले भने, “हाम्रो जस्तो सङ्घीयता अन्य मुलुकमा छैन, यसमा चुनौती आउन सक्दछ त्यसका लागि हामी सबै एकताबद्ध हुन जरुरी छ ।”
प्रदेशमा आगामी दिनमा सम्बद्ध सबैपक्ष र निकायसँग छलफल गर्दै साझा उद्देश्यका साथ अगाडि बढिने बताउँदै प्रदेश प्रमुख शेरचनले देश वर्तमान अवस्थासम्म आइपुग्न नेपाली जनताको महत्वपूर्ण योगदान रहेको बताए । समृद्ध नेपालको चाहनालाई पूरा गर्न संविधान कार्यान्वयन जरुरी रहेको बताउँदै उनले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनअपेक्षा पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।
पदभार ग्रहण समारोहमा प्रदेश प्रमुख शेरचनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि पोखरा विमानस्थलमा उनलाई गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, सामाजिक विकासमन्त्री नरदेवी पुन, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारीलगायतले स्वागत गरेका थिए ।
प्रदेश प्रमुख प्रसाईबाट पदभार
प्रदेश नं ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई बुधबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ । बुधबार दिउँसो आइपुगेका प्रमुख प्रसाईंलाई प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामजिक विकासमन्त्री युवराज दुलालसहित प्रदेश ३ का सांसद, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुखको टोलीले स्वागत गरेको हो ।स्वागतपश्चात् उनले बुधबारै पदभारसमेत ग्रहण गरे । पदभार ग्रहण गर्दै उनले आफू प्रदेश ३ को प्रगतिका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।
कलौनीद्वारा पदभार ग्रहण
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् । मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेश प्रमुख कलौनीले बुधबार यहाँ कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए । उनलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार