काठमाडौं(जस)– भारतले नयाँ नक्सामा नेपाली भूभाग कालापानी समेत भारतीय भूभागमा पारेर जारी गरेको छ । भारतको यस्तो कदमप्रति नेपाल सरकार भने अहिलेसम्म मौन देखिएको छ । यसबारे सरकारले आधिकारिक धारणा बनाइनसकेकाले सरकारका एक मन्त्रीले बताए । यस बारेमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने परराष्ट्र मन्त्रालयले बुझ्ने काम भैरहेको भनेर आफ्नो जिम्मेवारी पूरा गरेको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले यस सम्बन्धमा सरकारको ध्यानाकृष्ट भएको र यसबारेमा नापी विभागसँग थप बुझ्दै गरेको बताए । तर, नापी विभागका एक उच्च अधिकारी भने यो विषय परराष्ट्रसचिव स्तरीय संयन्त्रले हेर्ने बताए । उनले भने, ‘कालापानी र सुस्ताको विषय परराष्ट्र सचिवले हेर्ने भनिएको छ । यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन ।’
ऐेतहासिक तथ्यका आधारमा नेपालको भूभाग रहेको कालापानीको लिपुलेक भारतले आफ्नो दाबी गर्दै आएको छ । त्यही क्रममा उसले केही दिन अघि जारी गरेको भारतको नया नक्सामा पनि त्यो भूभाग भारतमै सेटेको छ । विस २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षी सी जिनपिङ्सँग बेइजिङ्मा एक समझदारी हुँदा नेपाल–तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा गरेपछि यो विषय पुनः सुरू भएको थियो । अहिले त्यसैलाई पुष्टि गर्ने किसिमले भारतको नयाँ नक्सा आएको छ ।
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो । भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले सार्वजनिक गरेको नयाँ राजनैतिक नक्साप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ फेसबुकमार्फत नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य रहेको बताएका छन् । उनले लेखेका छन्, ‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ । कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’
यस्तै भारत सरकारले हालै जारी गरेको नयाँ नक्साप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । भारताको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा समेटिएको भन्दै राप्रपाले आपत्ती जनाएको हो । भारतको नयाँ नक्सामा नेपाली भूभाग परेको भन्दै विज्ञप्ति जारी गर्दे भारतको यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए । ती भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेको थियो । नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न सरकारसँग माग गरेको छ ।