काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बुधबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदान गर्ने मेसिन बिग्रिएका कारण आज मतदान स्थगित गरिएको जनाइएको छ । बिहीबार बिहान १० बजेदेखि मतदान हुनेसमेत जनाइएको छ । यसअघि मतदान प्रक्रिया ढिलो गरेको भन्दै मतदाताले मतदान रद्द गर्न माग गर्दै नाराबाजिसमेत गरेका थिए ।
संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मंगलबार साँझदेखि बुधबार अपराह्न ३:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका थिए । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुने जनाइएको थियो । उनका अनुसार संघको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि सुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।