एनआरएन महासचिवमा डा हेमराज शर्मा र जानकी गुरुङको उम्मेदवारी
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार डा हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको भौतिकशास्त्री समेत रहेका शर्माले बताए । ‘अहिलेसम्म मैले बाहिर बसेरै काम गरेर देखाएँ। अहिले संस्थालाई मजस्ता अनुभवी व्यक्तिको आवश्यकता महशुस भइरहेकाले चुनाबी मैदानमा जाने निर्णय गरेको छु’ उनले भने ।
‘मैले धेरै सोचविचार गरेर नै महासचिव पदमा उठ्ने निर्णय गरेको हुँ । म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ, अन्यथा मैदानबाट हट्ने कुरा हुँदैन’ उनले भने । ‘हाल कार्यसमितिमा रहेका साथीहरुलाई विस्थापित गरेर वा कसैलाई अप्ठ्यारोमा पार्न म चुनावमा आउन खोजेको होइन आ–आफ्नो योगदान, दक्षता र अनुभवअनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुले स्पेस पाउनु नै हुनेछ’ शर्माले बताए ।
डा। शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १० जनाभन्दा बढि विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । संघको परिमार्जित नयां विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनले साथीहरुको प्रेरणाले महासचिवमा उम्मेदवार बन्न लागेको बताए । बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनका एक हस्तीका रुपमा चिनिन्छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहांको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत छन् । शर्माले पूर्व अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
एनआरएनए महासचिवमा जानकी गुरुङको उम्मेदवारी
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अधिवेशनको मिति नजिकिँदै जाँदा विश्वभर रहेका नेपालीबिच चुनावी माहौल पनि निकै बढेको छ । लामो समयदेखि एनआरएनए गतिविधिमा सक्रिय एनआरएनए अभियान्ताले धमाधम विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैविच लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय बेल्जियममा बस्दै आएकी महिला व्यवसायी जानकी गुरुङले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । एनआरएनए सदस्यदेखि एनआरएन बेल्जियम अध्यक्ष हुँदै हाल सचिव गुरुङले महासचिवमा उम्मेदवारी दिन लागेकी हुन् ।
होटल, रेष्टुरेन्ट, ट्राभल, मनिटान्सफर, कृषि लगायतको व्यवसायमा आवद्ध छिन् । सामाजिक कार्यमा निकै सक्रिय गुरुङले नेपालमा दुरगम गाउँवस्तिमा महिला उत्थान सम्वन्धी जनचेतनामुलक काम पनि गर्दै आएकी छिन् । महासचिवको उम्मेदवारीका सन्दर्भमा सचिव गुरुङले भनिन्, एनआरएनए अभियान भनेको कहिले काही यस्तो अवस्था आउँछ, आफनो व्यापार व्यवसायलाई थाती राखेर समेत समय दिन सक्नुपर्छ । भावनाको एकतालाई पनि वुझन सक्नुपर्छ ।
विश्वभर रहेका नेपालीको समस्या होस या लगानीको सन्दर्भ अनि समग्र एनआरएनए महिलाको भावना पनि सम्वोधन गर्न सक्नुपर्छ । म यी सवै कामका लागि समय दिन सक्छु र विगतमा पनि दिँदै आएको छु । त्यसकारण महिला महासचिवमा उम्मदेवारी दिने घोषणा गरेकी हुँ, उनले भनिन् ।
