सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

म एनआरएनएनको नेतृत्व लिन सक्षम छु

बुधबार, असोज २९ २०७६


कुमार पन्त
वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसिसी) को नवौं बिश्व सम्मेलन काठमाडौंमा शुरु भएको छ । असोज २८ देखि ३० सम्म काठमाडौंमा आयोजना हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशनमा संघका उपाध्यक्ष कुमार पन्तले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । दुई दशकअघि विद्यार्थीका रूपमा जर्मनी पुग्नुभएका गोर्खा फुजेल निवासी लामो समयदेखि एनआरएनए अभियानमा छन् । अघिल्लो सम्मेलनमै अध्यक्षका प्रत्यासी रहनुभएका पन्त सहमतिको आधारमा एनआरएनएको उपाध्यक्षमा बसेका थिए । डेढ दशकदेखि एनआरएनए अभियानमा सक्रिय पन्त सन् २००५ मा हिस्सेन क्षेत्र जर्मनीका संयोजक बनेका थिए । त्यसपछि आइसीसी सदस्य, महासचिव, दुई कार्यकाल उपाध्यक्षको रुपमा एनआरएनए अभियानलाई सघाए । अव संस्थालाई नेतृत्व गर्ने योजनामा जुटेका पन्तले आफ्नो स्पष्ट भिजन पनि सार्वजनिक गरिसकेका छन् । जर्मनीको आर्थिक राजधानी फ्र्यांकफर्टलाई आधार बनाएर हस्पिटालिटी व्यवसायमा सक्रिय पन्त कुशल संगठक र सफल उद्यमीका रुपमा स्थापित पन्तसँग एनआरएनए विशव सम्मेलन तथा निर्वाचनलाई केन्द्रमा राखेर जनसवाल दैनिकले गरेको कुराकानीको सारसंक्षेप :

एनआरएनए अध्यक्षका लागि तयार हनुभएको हो ?
मेरो एनआरएनमा लामो यात्रा र अनुभव छ । म महासचिव भई काम गरिसकेको र योसहित दुई कार्यकाल त उपाध्यक्ष नै भएर काम गरि सकें । वरिष्ठता
को हिसावले पनि म अगाडि भएको हुँदा पक्कै पनि म आगामी नेतृत्वको लागि तयार छु । यसमा पनि अझ संसार भरिका एनआरएन साथीहरुको अनुरोधलाई पनि मध्यनजर गर्दै म आगामी नेतृत्वको लागि तयार छु । औपचारिक घोषणा पनि गरिसके । म एनआरएनएनको नेतृत्व लिन सक्षम छु । विश्वभरिका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ । धेरै देश पुग्दा साथीहरुले एनआरएनलाई थप उचाई दिन तपाई नेतृत्वमा हुनुपर्छ, सहयोग गर्न तयार छौं भनेर भन्नुभएको छ । विश्वभरकै साथी तथा शुभचिन्तकहरुबाट त्यस्तै खालको प्रतिक्रिया पाएको छु । साथीहरुसँग सामाजिक सञ्जाल र भिडियो कन्फरेन्समा छलफल हुँदा उहाँहरुले दर्शाउनु भएको मायाले उत्साहित बनाएको छ ।
नेतृत्वका लागि कस्तो कार्ययोजना बनाउनु भएको छ ?
‘भिजन २०२०’ भन्ने प्रस्ताव निवर्तमान अध्यक्ष शेष घलेले ल्याउनुभएको हो र त्यसमा एनआरएनले च्यारिटीको कामलाई कसरी अघि बढाउने भनेर स्पष्टसँग लेखिएको छ । त्यसलाई कर्यान्वयनमा लिएर जानुपर्ने मेरो कर्तव्य छ । अर्कोतर्फ हामी पछाडि धेरै ठूलो संख्याको एनआरएन दोस्रो पुस्तामा छ । त्यो पुस्तालाई स्थानीय राजनीति, व्यवसायिक , सामाजिक लगायतका क्षेत्रमा कसरी सहभागी गराउने भन्नेबारे पनि मेरो ध्यान रहनेछ । जति धेरै युवा पुस्तालाई एनआरएनमा सहभागी गराउन सकियो त्यति नै दोस्रो पुस्ताले पनि लाभ लिन सक्छन । त्यसले गर्दा नेपालले पनि फाइदा लिन सक्छ भन्ने मेरो बुझाई छ । प्रवासमा महिलाहरु निकै सक्षम छन् तर उनीहरुको उल्लेख्य रुपमा एनआरएनमा सहभागिता नभइरहेको अवस्थामा सहभागिता बढाउन पनि मेरो पहल रहनेछ ।
मैले उम्मेदवारी घोषणा कार्यक्रममा पनि गैर आवासीय नेपाली संघलाई अघि बढाउने स्पष्ट रुपमा आफ्नो भिजन राखेको छु । हाम्रा अंग्रेजले सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना गर्दा नै यसका सदस्यको संख्या निकै ठूलो हुन्छ भन्ने अनुमान गर्नुभएको थियो । त्यतिबेला करिब २५ लाख नेपाली विदेशमा बसोवास गर्थे । अहिले यो संख्या तीन गुणा भन्दा बढेर ८० लाख नाघिसकेको अवस्था छ । हाम्रो सञ्जाल पनि ८३ देशमा विस्तार भइसकेको छ । त्यतिबेलाको अपेक्षा र अहिलेको अपेक्षा निकै फरक छ । त्यतिबेला मुलुकमा द्वन्द्वको अवस्था थियो । त्यतिबेला ससाना विदेशी लगानी ल्याउन पनि कठिन थियो । एनआरएनको सहयोगमा शान्तिको सन्देश र ससाना विदेशी लगानीलाई सरकारले प्रवद्र्धन गर्न चाहेको थियो । तर अहिले अवस्था फरक छ । अहिले मुलुकलाई ठूलो लगानी आवश्यक छ । यसका अतिरिक्त ठूलो संख्यामा नेपाली रोजगारको खोजीमा खाडी राष्ट्र र मलेसियामा छन् । वैदेशिक रोजगारमा जोखिम पनि त्यत्तिकै छ भने नेपालबाट काम गर्न त्यहाँ जाने अधिकांश अर्धदक्ष कामदार छन् । हामीले त्यही ठाउँमा दक्ष श्रमिक पठाउन सकियो भने मुलुकले प्राप्त गर्ने रेमिट्यान्सको आकार वृद्धि हुनेछ । कामदारको दक्षता वृद्धिका लागि हामी सबै तहका सरकारसँग मिलेर व्यावसायिक तालिम केन्द्र स्थापना गर्ने छौं । यसले हाम्रो मुलुक पनि फिलिपिन्स, भियतनामलगायतका देशले झैं दक्ष कामदार पठाउने भन्ने पहिचान प्राप्त हुनेछ । वैदेशिक रोजगारमा ठूलो संख्यामा नेपाली अंगभंग हुने, विभिन्न समस्यामा पर्ने दयनीय अवस्था छ । उनीहरूको राहतका लागि हामीले अहिलेसम्म ठूलो काम गर्न सकेका छैनौं । अब सरकार र एनआरएनएको सहकार्यमा हामीले कल्याणकारी कोष त स्थापना गरेका छौं, तर अहिले त्यो केही करोड रुपैयाँमा सीमित छ । त्यसलाई अब अर्बौंको बनाउनुपर्नेछ । त्यो काममा पनि हामी लाग्ने छौं ।

कल्याणकारी कोषको आकार कसरी बढाउने ? के छन योजना ?
एकजना कामदारले रेमिट्यान्स पठाउँदा प्रतिडलर बैंकहरूले ३० पैसा जति कमिसन पाउँछन् । हामीले ३० पैसामध्येको २ पैसा मात्र श्रमिक कल्याणकारी कोषमा छुट्याउन सकियो भने श्रमिकको कल्याण र राहतमा उल्लेखनीय काम गर्न सकिन्छ । हामीले गैरआवासीय नेपाली संघ स्थापना हुँदादेखि नै बोकेको मुख्य उद्देश्य भनेको गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीप र विदेशमा आर्जन गरेको पुँजी तथा प्रविधिलाई नेपालको विकासका लागि लिएर आउँछौं भनेका थियौं । पुँजी लगानीमा हामीले उल्लेख्य योगदान गरेका छौं । आज पनि अर्थतन्त्रको ३५ प्रतिशत बराबर हिस्सा गैरआवासीय नेपालीले पठाएको रेमिट्यान्सले धानिरहेको छ । अहिले नेपालमा लगानी ल्याउन धेरै ठूलो समस्या छैन र हामीले साना–ठूला लगानी पनि गरिरहेका छौं । अब ज्ञान, सीप र प्रविधिलाई पनि नेपालको विकासका लागि उपयोग गर्नुपर्छ भनेर पहिलोपटक विश्वव्यापी विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गरेका छौं ।
संसारभर जहाँसुकै जाँदा पनि एनआरएनएलाई व्यापारीको संस्था मात्र ठानेका थियौं । तर, हाम्रो बुझाइ परिवर्तन भएको छ भन्नुहुन्छ । हामीलाई अरू विज्ञ सम्मेलन गर्न पनि धेरैले अनुरोध गर्नुभएको छ । पहिलो सम्मेलनबाट हामी एनआरएनएभित्र केकस्ता विज्ञता भएका नेपाली हुनुहुन्छ भनेर सूचीकृत गर्न सफल भएका छौं । सीप र विज्ञता भएका साथीहरूले नेपालको विकासका लागि विनाशुल्क काम गर्न तयार छौं भन्नुभएको छ । उहाँहरू हाम्रो सम्पत्ति हो । उहाँहरूको क्षमतालाई नेपालको विकासमा लगाउने सम्बन्धमा आगामी नेतृत्वले विशेष जोड दिनेछ ।

चुनावी नारा मात्रै त हैन नि ?
चुनावी नाराका लागि मैले यो सव कुरा भनिरहेको छैन । काम गरेर प्रमाणित गर्न सकिन्छ भनेर नै आफ्ना योजना अघि सारेको हो । तपार्यले भनेजस्तै यो गुनासो हामीले सुनेका छौं । विगतमा भूकम्पपछि राहत, उद्धार तथा पुनर्निर्माणका काममा ध्यान केन्द्रित गर्नुपरेकाले वैदेशिक रोजगारका क्षेत्रमा धेरै काम गर्न नसकिएको हो । यो यथार्थलाइ म स्वीकार गर्छु । नेपालमाथि परेको प्राकृतिक विपत्तिका कारण बढी काम यसतर्फ गर्नुपरेको हो । तर पनि हामीले वैदेशिक रोजगारमा मुद्दा र जोखिममा रहेकालाई राहत पुर्याउने कुरालाई बेवास्ता गरेका छैनौं । आगामी दिनमा वैदेशिक रोजगारका क्षेत्रमा बढी केन्द्रित हुनेछौं । अब एनआरएनए दुई ठाउँमा रहन्छ ।

दुई ठाउँमा रहन्छ भनेको के हो नि ?
मुद्दा र कामको हिसावले अब एनआरएनए दुई ठाउँमा रहन्छ भनेको हो । पहिलो वैदेशिक रोजगारका समस्या समाधानमा, दोस्रो देशको आर्थिक उन्नतिमा । वैदेशिक रोजगारमा रहेका र जानेहरूको हक, हित र अधिकार तथा रोजगारमा रहेकाको सुरक्षाका लागि हामी रचनात्मक भूमिका निर्वाह गर्नेछौं । यससँगै गैरआवासीय नेपालीका ज्ञान, सीप, पुँजी र प्रविधिको लगानी भित्रयाउनेमा हाम्रा कार्यक्रम केन्द्रित हुनेछन् । जातीय, क्षेत्रीय, धार्मिक, भाषा, लिंग, विचारधारा कुनै आधारमा यो संस्थामा विभाजन छैन । त्यही भएर हामीले सुरुवातदेखि नै यो संस्थाको गैरराजनीतिक चरित्र कायमै राख्नुपर्छ भनेर भन्दै आएका छौं । हामी साझा मुद्दामा अघि बढेका छौं । यसले गैरआवासीय नेपालीका मुद्दालाई ओझेलमा राखेर राजनीतीकरण गर्न खोज्छ भने उसले गैरआवासीय नेपाली आन्दोलनको मर्म र गम्भीरता नबुझेको प्रस्ट हुन्छ ।

तर, एनआरएनएबाट सोचेजति लगानी नआरएको सुनिन्छ नि ?
हमी लगानी ल्याउन सक्षम छौं । तर सरकारसँगको सहकार्यमा ठोस योजना नबनिरहेको हो कि भन्ने आभास हामीलाई भएको छ । अहिले स्रोतसाधनले सम्पन्न र विज्ञता भएका गैरआवासीय नेपालीको संख्या दिनदिनै बढिरहेको छ । त्यसलाई सरकारले ध्यान दिनुपर्छ । हामीले पहल गरिरहेका छौं । सरकारले ठोस कार्यक्रममा यी काम गैरआवासीय नेपालीको सहकार्य गर्ने भन्ने योजना अघि सारिएको छैन । अब हामी सरकारसँगको सहकार्यमा केके काम कति समयभित्र गर्ने भन्ने योजना बनाएरै अघि बढ्छौं । सरकार गैरआवासीय नेपालीलाई पूर्णरूपमा सम्पत्तिको अधिकार दिन आनाकानी गरिरहेको विषय चर्चामा छ । यो बिषयमा हामीले सरकार र राजनीतिक दलहरुसँग पटक पटक कुरा गरेका छौं । यति ठूलो संख्यामा नेपाली मुलुकबाहिर छन् । उनीहरूबाट देशको आर्थिक विकासका लागि कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्नेमा हामी गलत दिशातिर पो बहस गरिरहेका छौं । हामीले विकसित मुलुककै उदाहरण हेर्ने हो भने जुनसुकै मुलुकका नागरिकले गएर सम्पत्ति खरिद गर्छन् । उनीहरूको सम्पत्तिमाथिको अधिकार सधैं कायम भइरहन्छ । कसैको पनि सम्पत्ति गायब हुने भन्ने हुँदैन । राज्यलाई आवश्यक पर्दा चलेको दररेटमा कुनै व्यक्तिविशेषको सम्पत्ति किन्नु फरक कुरा हो । नत्र भने कुनै व्यक्तिले खरिद गरेको सम्पत्ति जति पुस्तासम्म पनि रहिरहनुपर्छ । यो विषय एनआरएनको एजेन्डा पनि हो । हामी यसमा निकै गम्भीर पनि छौं ।
हामी सम्पत्तिको अधिकारमाथिको बहसलाई तीव्र बनाउने छौं । सुरुका दिनमा गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा पनि राजनीतिक दलका नेता तथा सांसदमा यस्तै द्विविधा देखिन्थ्यो । उहाँहरू सुन्नै चाहनुहुन्नथ्यो । दुइटा देशको नागरिकता भन्ने पनि हुन्छ भन्नुहुन्थ्यो । हामीले यसमा छलफल गर्दै जाँदा यो सम्भव रहेछ भनेर उहाँहरूले बुझ्नुभयो र अहिले नागरिकताका सवालमा धेरै मतभेद बाँकी छैनन । यस्तै, सम्पत्तिमाथिको अधिकारका सम्बन्धमा उहाँहरूलाई बुझाउने सवालमा हाम्रो नेतृत्व संवेदनशील ढंगले लाग्नेछ ।

दोस्रो पुस्ताका नेपालीलाई नागरिकता दिने विषयमा पनि समस्या यथावतै छन, होइन र ?
अहिले नागरिकता विधेयक छलफलकै चरणमा छ । गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनिएको छ । राजनीतिक अधिकारबाहेकको नागरिकता गैरआवासीय नेपालीले प्राप्त गर्ने छन् भनेर संविधानमै लेखिसकेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने निश्चित भइसकेको छ । अब कति पुस्तासम्मका गैरआवासीय नेपालीले नागरिकता पाउने, कस्तो अवस्थामा पाउने या नपाउने भन्ने विषय टुंगो लाग्न बाँकी नै छ । हामीले सांसदहरूलाई पनि गैरआवासीय नेपालीलाई नागरिकता दिने विषयमा लचक हुन अनुरोध गर्दे आएका छौं ।

गैरआवासीय नेपालीको सामूहिक लगानीको विषय कहाँ पुग्यो ?
सन् २०१३ देखि हामीले सामूहिक लगानीका सवालमा ठोस काम थालेका हौं । त्यतिबेला गैरआवासीय नेपाली सामूहिक लगानीमा कत्तिको उत्साहित छन् त भनेर परीक्षण गर्न लमजुङको दोर्दी खोला जलविद्युत् आयोजना लिएर गएका थियौं । सामूहिक लगानीको यो आयोजना करिब सम्पन्न हुने चरणमा छ । यसमा एक हजार गैरआवासीय नेपाली हुनुहुन्छ । यो आयोजनाको सफलतापछि गैरआवासीय नेपालीमाझ यस्ता सामूहिक लगानीका आयोजनाको माग छ । त्यसैले हामीले १० अर्ब रुपैयाँको कोष बनाएर सामूहिक लगानी बनाउने नेपाल सरकारसँग समझदारी पनि गरिसकेका छौं ।

बिज्ञहरुको विज्ञता उपयोग गर्ने सवालमा एनआरएनएले कुनै पहल गरेको छैन भन्ने आरोप पनि छ नि ?
हामीले गत वर्ष पहिलोपटक विज्ञ सम्मेलन गर्यौं । सम्मेलनले एउटा श्वेतपत्र जारी गरेको छ र त्यो हामीले सरकारलाई पनि दिएका छौं । अब यसलाई कार्यान्वयनमा लैजान हामी सरकारसँग सहकार्य गर्न एनआरएनए र सरकारको संयुक्त कार्यदल बनाउने सहमति भएको छ । विज्ञ सम्मेलनमा हामीले सबै खालका विज्ञता भएका साथीहरूलाई सूचीकृत गर्न सफल भएका छौं । अब हामी हरेक वर्ष एउटा खास विषयविशेषमा र सरकारको आवश्यकताअनुसार विज्ञ सम्मेलन आयोजना गर्ने र हाम्रा विज्ञहरूलाई झिकाउने छौं । यसरी छुट्टाछुट्टै पूर्वाधार, पर्यटन, कृषि, चिकित्सा, इन्जिनियरिङजस्ता विभिन्न विधामा हाम्रा विज्ञहरूले नेपाल सरकारसँग मिलेर मुलुकको विकासका लागि योगदान गर्न पाउनुहुनेछ । हामी महाधिवेशन र विश्व सम्मेलनपछि सामूहिक लगानीका कार्यक्रम अघि बढाउँछौं । खासगरी ससाना बचत गर्ने साथीहरूले रेमिट्यान्सका रूपमा पैसा नेपालमा पठाउनु त भएको छ । तर, त्यो उत्पादनमूलक क्षेत्रमा लगानी भएको छैन । सामूहिक लगानीका आयोजनामा गरिएको लगानीले उहाँहरूलाई भविष्यमा लामो समयसम्म प्रतिफल सुनिश्चित हुनेछ

अहिले चुनावमा राजनीतिक हस्तक्षेपको चर्को चर्चा छ नि ?
गैर आवासीय नेपाली संघ गैरराजनीतिक संस्था हो । यस्मा राजनीतिककरण गर्नुहुन्न । कस्ले के आरोप लगाए वा प्रचार गरे भन्दा पनि म यो आन्दोलनमा निरन्तर लागेको ब्यक्ति हुँ । अहिलेसम्म र भविश्यमा पनि गैर आवासीय नेपाली संघमा राजनीतिककरण हुन्न । जस्ले राजनीतिकरण गर्न खोज्छन, उनीहरुले संस्थाको मर्म र भावना नबुझेको ठहर्छ ।

अहिले एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ ?
प्रमुख रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को मुख्य दायित्व भनेकोे आफ्नै कार्यालय भवन सम्पन्न गरि सचिवालय संचालन गर्नु रहेकोमा त्यो सम्पन्न भएको छ । त्यसै गरि २०७२ सालको भुकम्पको केन्द्र बिन्दु रहेको गोरखाको लाप्राकमा ५७३ वटा घरहरु निर्माण सम्पन्न भएको छ र केही समयमा समुदायमा हस्तान्तरण हुँदैछ । काठमाडौंको शंखमुलमा रहेको एनआरएनए पार्कको परियोजना सम्पन्न गर्नुपर्ने कार्यभार हाम्रो काँधमा रहेको हुँदा उक्त कामहरु सम्पन्न गर्नेमा केन्द्रित भयौं । त्यसका अलावा बिभिन्न क्षेत्रमा हुने सम्मेलन तथा बिज्ञ सम्मेलनहरु गरि कार्ययोजना बनाउने नै हाम्रो प्रमुख कार्यभार हो अहिले ।

यहाँले आफ्नो उपाध्यक्षको कार्यकालमा उल्लेखनीय कामहरु के–के भए ?
म उपाध्यक्षमा निर्वा्चित भईसके पछि मेरो जिम्मेवारीमा निर्माणाधिन एनआरएनए भवन सम्पन्न गर्नु पर्ने थियो । उक्त कार्य सम्पन्न गरि गत डिसेम्बर महिनाबाट एनआरएनए को सचिवालय आफ्नै भवनमा संचालन भईरहेको छ । त्यसै गरि अर्को जिम्मेवारी भनेको बिभिन्न मुलुकमा छरिएर रहेका नेपाली बिज्ञहरुलाई एकै स्थानमा भेला गरि बिज्ञ सम्मेलन गर्नुपर्ने मलाई जिम्मेवारी थियो उक्त काम पनि मैले सफलताका साथ सम्पन्न गरि आफ्नो जिम्मेवारी पुरा गरेको छु । संगठनले जिम्मा दिएका सबै काम ईमान्दारिताका साथ पुरा गरिरहेको छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार