काठमाडौँ(जस)–नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ । सम्मेलनको जानकारी दिने उद्देश्यले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भबन भट्टले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए ।
उनले सम्मेलन नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा केन्द्रित हुने बताए । सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिनेसमेत उनले जानकारी दिए । अध्यक्ष भट्ट्ले नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको धारणा राखे । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले होटल ह््यातमा गर्नेे कार्यक्रम रहेको छ ।

सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने छन् । सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए । उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिए । उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ ।
असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता भुशण घिमिरेले जानकारी दिए । महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाईएको छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई÷दुई वर्षमा निर्वाचन हुने गर्दछ । कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली स्वदेश आएका छन् । संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यको प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेतृत्वका लागि पन्त र आचार्यले प्यानलै घोषणा गरिसकेका छन् ।
नयाँ नेतृत्वका लागि पन्त र आचार्यको प्रतिस्पर्धा हुने
–गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि अध्यक्षका प्रत्यासी कुल आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् । सोमबार अपरान्ह होटल रोयल सिंगेमा पत्रकार सम्मेलन गर्दै आचार्यले आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षमा जापान निवासी किरण थापा, अमेरिका निवासी डा. केशव पौडेल, कतार निवासी नरेन्द्र भाट, अष्ट्रेलिया निवासी मन केसी र अमेरिका निवासी रविना थापा छन् । त्यस्तै, महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्षमा बेलायत निवासी सोम सापकोटा उम्मेदवार बनेका छन् ।
आचार्यले एनआरएनएलाई सबै गैरआवासीय नेपालीहरुको अपनत्व महसुस गर्ने साझा संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनको पूर्वसन्ध्यामा १० बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘गैरआवासीय नेपाली संघलाई सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा र अपनत्व महशुस हुने खालको संस्था निर्माण गर्न मैले आफ्ना उम्मेद्वारी घोषणासँगै १० बुँदे कार्ययोजना सार्वजनिक गरेको छु’, उनले भनेका छन्,’संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउन मैले आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना अघि सारेको छु ।’
यता कुमार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । उनको टिममा बद्री केसी, धर्मराज अधिकारी, सपिला राजभण्डारी, हिक्मत थापा, सोनाम लामा उपाध्यक्षमा हेमराज शर्मा, महासचिबमा गौरी जोशी, शिवकुमार बरुवाल, आरके शर्मा मध्येबाट सचिबमा, महेशकुमार श्रेष्ठ लाई कोषाध्यक्षमा र लोकप्रसाद दाहाललाई सहकोषाध्यक्षमा रहने जनाईएको छ । पन्त समुहको प्रबक्तामा डिबी क्षेत्रीलाई राखिएको जनाइएको छ । यस्तै आइसिसी महिला संयोजकमा संगीता मरहट्ठा, जुनु गुरुङ, प्रमिला बस्नेत र आइसिसी युवा संयोजकमा स्वतन्त्रप्रताप शाह, सुदीप कार्की र हिमाल गुरुङ उम्मेदवार रहेका छन् ।