बिबिध कार्यक्रमका साथ गैरआवासीय नेपाली दिवस भव्य रुपमा सम्पन्न

 

काठमाडौं, ११ अक्टोवर –  गैरआवासीय नेपाली दिवस सदाझैं यसपटक पनि स्वयंम्भूनाथ, पशुपतिनाथलगाएतको पूजाअर्चना गरि बिबिध कार्यक्रम गरेर सम्पन्न भएको छ । सो अवसरमा संघका अध्यक्ष भबन भट्टलगायत पदाधिकारीहरु तथा बिभिन्न मुलुकहरुबाट आएका गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो,स्वयंम्भूनाथको दर्शनपछि त्यहाबाट असनको अन्नपुर्णथानसम्म पदयात्रा गर्दै पशुपतिसम्मको यात्रा तय गरिएको थियो ।
गैरआवासीय नेपाली अभियानको थालनी भएको सोह्रौं वर्षगांठ पारेर गैरआवासीय नेपाली संघ युवा तथा खेलकुद समितिले अक्टोबर ११ मा स्वयम्भुनाथ देखि पशुपतिनाथ सम्म एनआरएनए हेरिटेज वाकथुन कार्यक्रम सम्पन्न गरेको हो । नेपाल भ्रमण वर्ष २०२० समेत नजिक आइरहेको सन्दर्भमा संघको आसन्न आगामी नवौं साधारण सभा तथा विश्व सम्मेलनमा नेपाल आउने प्रतिनिधिहरुलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरीएको समितिका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले बताए | धेरैजसो गैरआवासीय नेपालीहरुमा अझै पनि स्वयम्भुनाथ देखि जमल सम्म रहेका महत्त्वपूर्ण मठ-मन्दिरबारे जानकारी नभएको सन्दर्भमा सो कार्यक्रमले उनीहरुमा त्यस्ता सम्पदाबारे ज्ञान समेत बढ्ने लक्ष राखिएको थापाले बताए । गैरआवासीय नेपाली संघले गएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएर विभागीय टोलीको मान्यता पाए संगै एनआरएनए स्पोर्ट्स एकेडेमी निर्माण हुँदैछ, जसको पहिलो कार्यक्रमका रुपमा यस वाकथुनलाइ महत्त्वका साथ हेरिएको छ । अक्टोबर ११ मा हरेक वर्ष पर्ने एनआरएन दिवसका दिन संघका वर्तमान र पूर्व पदाधिकारी, सदस्यहरु लगायतले स्वयम्भुनाथ र पशुपतिनाथको पुजा गर्ने कार्यक्रम आयोजना नियमित जस्तै हुने गरेकोमा यसपालि अलिक फरक ढंगले पुजा संगै स्वयम्भुनाथ र पशुपतिनाथको वीचमा पर्ने धार्मिक स्थलहरुमा दर्शन हुने गरि वाकथुन आयोजना गरिएको थापाले बताए । विहान ७ वजे स्वयम्भुनाथमा शुरु भई सो कार्यक्रम ९:३० बजे पशुपतिनाथमा समापन भएको सो कार्यक्रममा कुल २०० जना भन्दा बढी सहभागी भएका थिए ।
शुक्रबार नै संघका पदाधिकारीहरुले शंखमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंखमूल पार्कको अवलोकन भ्रमण गरेका थिए ।गैरआवासीय नेपाली दिवसको अवसरमा संघको भवन बालुवाटारमा संघको झन्डोत्तोलन संघका अध्यक्ष भट्ट,पूर्व अध्यक्ष शेष घले,उपाध्यक्षहरु कुमार पन्त,कुल आचार्य,सपिला राजभन्डारी,महासचिब बद्रि केसी,सचिब डिबी क्षेत्रि,जानकी गुरुङ,सहकोषाध्यक्ष सोम सापकोटा,ओसेनिया संयोजक धर्मराज अधिकारि,मध्यपुर्ब संयोजक आरके शर्मा,एशिया प्याशिफिक संयोजक किरण थापा,अमेरिका संयोजक गौरी जोशीलगायत विभिन्न पदाधिकारीहरुको उपस्थितिमा गरिएको थियो र सो अवसरमा संघमै जलपानको आयोजना समेत गरिएको थियो ।यस अवसरमा विभिन्न मुलुकहरुबाट सम्मेलनमा भाग लिन आउनु भएका सयौं गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।
असोज २८ देखि ३० सम्म संचालन हुन गइरहेको नबौ गैरअवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महधिवेशनमा सहभागी हुन आएका निर्वाचन प्रतिनिधिहरु तथा सहभागीहरुको नाम दर्ता गर्ने कार्य संघको सचिवालय बालुवाटारमा सूचारु भईरहेको छ ।