काठमाडौं(जस)–स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किने भएका छन् । गत शनिबार स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली आइतबार दिउसो थाई एयरलाइन्सबाट स्वदेश फर्किने भएका छन् ।
प्रधानमन्त्रीले सिंगापुरको सरकारी नेसनल युनिर्भ्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गराएका हुन् । प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक डा. दिव्या सिंह र सुरक्षाकर्मीसहित ९ सदस्यीय टोली सिंगापुर प्रस्थान गरेको छ । यस अघि गत १० साउनमा सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भएको थियो । ’युएएसजी ग्याइडेड बायोप्सी’को क्रममा रगतमा क्रेटिनाइनो बढेकाले चिकित्सकहरूले थप परीक्षणका लागि सिंगापुर उपयुक्त हुने सुझाब दिएका थिए । १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो । यस अघि प्रधानमन्त्री ओलीले थाइल्यान्डको बुमरुङगार्ड अस्पताल र सिंगापुरमा फलोअप उपचार गराउँदै आएका थिए ।