रामेछाप(जस)–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले व्यवस्थालाई सम्मान नगरे पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएका छन् । आइतबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली र रामेछाप जोडने खाँडादेवी गाउँपालिका जोड्ने खैरनीघाटको सुनकोशी नदीमा बनाइएको पक्की पुलको उद्घाटन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अहिलेको व्यवस्था भनेको धेरै जनताको त्याग र बलिदानपछि आएकोले यो व्यवस्थालाई पूर्वराजा लगायतले सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘कसैले अहिलेको व्यवस्था फेर्छु भन्ने सपना नदेख्दा हुन्छ, यदि त्यो कोही कसैले सोचेको छ भने त्यसको हविगत कल्पना गर्नै नसक्ने हुनेछ’,उनले भने ।
उनले अगाडि भने, ‘केपी शर्मा ओली त्यसै देशको प्रधानमन्त्री हुनुभएको होइन, १० वर्ष जेलनेलको सजाय भोगेर आउनु भएको हो । कुनै दलाल र सामन्तवादहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाएका हैनन्, यसतर्फ सरकारको विरोध गर्नेहरुले एकपल्ट सोच्नु जरुरी छ ।’ एघार वर्षअघि सुरु भएको रामेछाप सिन्धुली जोड्ने मोटरेबल पुल निर्माणा गर्ने जिम्मेवारी लामा–खन्पाचे–कन्काई जेभी पाएको थियो । ११ वर्ष वित्दा पनि उक्त पुलको काम सम्पन्न नगरेर अलपत्र छाडेपछि सरकारले पुलको काम गर्ने जिम्मेवारी लिएका निमार्ण व्यवसायीको फर्म कालोसुचीमा राख्ने सूचना प्रकाशन गरेपछि निमार्ण व्यवसायीले वाध्य भएर उक्त पुलको काम ११ वर्षपछि सम्पन्न गरेका हुन् ।
सुनकोशी नदीमा पुल निमार्ण भएपछि रामेछापको पश्चिमी क्षेत्रमा जाने सवारीसाधनहरु जिल्ला सदरमुकाम मन्थली हुँदै र केही सवारीसाधनहरु सिन्धुपाल्चोकको दोलालघाट हुँदै एकदिनको बाटो जानु पर्ने वाध्यता हटेको छ । सो पुल संचालनमा आएपछि क्षेत्र नं २ अन्तर्गत सुनापति गाउँपालिका ५ वटा वडाहरु र खाँडादेवी गाउँपालिकाका ९ वटा वडाहरुमा सहजरुपले यातायातका साधनहरु संचालनमा सहजता भएको छ । पुल सञ्चालनमा आएपछि काठमाण्डौबाट विपी राजमार्ग हुँदै सिन्धुलीको खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्रमा पुग्न ४ घन्टामात्र लाग्नेछ । झण्डै ३ वर्ष अघि सडक बनेको भए पनि पुल नबन्दा गाडी वारपार हुन सकेका थिएनन् ।