शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

काँग्रेस बैठकमा भ्रातृ संस्थाबारे छलफल

शुक्रबार, भाद्र १३ २०७६

काठमाडौँ(जस)–नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहिबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सो प्रस्ताव प्रस्तुत गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
काँग्रेसको नेपाल विद्यार्थी संघ विघटित छ । थपिएको समयमा अधिवेशन गर्न नसकेको भन्दै नैनसिंह महर नेतृत्वको समिति भंग गरिएको थियो । त्यसपछि नयाँ कार्यसमिति बन्न सकेको छैन । यता नेपाल तरुण दल चार जना पदाधिकारीको भरमा सञ्चालित छ । तीन वर्ष कार्यकाल रहेको तरुण दलको अहिलेको कार्यसमितिको समयावधि सकिन अब चार महिनामात्र बाँकी छ । तर कार्यसमितिले पूर्णता पाउन सकेको छैन । नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको विधान अनुसार अवधि सकिएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बिहिबार केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरे । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १३ गते बिहान ११ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार