पोखरा(जस)–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार निरीक्षणका क्रममा उनले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताए । विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उनले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटक प्रवद्र्धनसँगै उनीहरुको बसाई लम्ब्याउनेतर्पm प्रदेश र स्थानीय सरकारको ध्यान जानु पर्ने आवश्यकता औंल्याए । विकास निर्माणमा अन्तर सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले कुनै पनि आयोजना स्थानीय जनताको जीविकोपार्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरा विमानस्थल निर्माणसँगै अन्य आवश्यक भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका उनले मुलुकमा सङ्घीयता कार्यान्वयन भए पनि विकास निर्माणका काममा समन्वयको पाटो अहिले पनि सशक्त बन्न नसकेको जानकारी गराए । पोखरा विमानस्थल आयोजना प्रमुख दिनेश मुनाकर्मीले विकासस्थलको अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आवश्यक सम्पूर्ण निर्माणकार्य तदारूकताका साथ भइरहेको कारण तोकिएको समयभन्दा छ महीना अगाडि नै सम्पन्न हुने जानकारी दिए ।
बुधबारको मितिसम्म निर्माणका लागि लगभग रु सात अर्ब चिनियाँ कम्पनीलाई भुक्तानी गरिएको बताउँदै उनले नेपाल सरकारको तर्पmबाट पनि रु तीन अर्बको अन्य काम भएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पोखरा विमानस्थल निर्माणसँगै यस क्षेत्र मात्र नभई मुलुककै पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेशसभा सदस्यलगायत स्थानीय तहका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, निर्माण कम्पनी प्रतिनिधिहको सहभागिता रहेको थियो ।कूल रु २१ अर्बको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिएमसीले पाएको थियो । सन् २०२१ जुलाई १० भित्र काम सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
पोखराको सौन्दर्यलाई जोगाउन आग्रह
मन्त्री भट्टराईले पोखराको सौन्दर्यलाई जोगाउन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्द्वारा बुधबार यहाँ आयोजित मन्त्री भट्टराईको स्वागत एवं गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन विषयक अन्तक्र्रियामा उनले विभिन्न नाममा भइरहेको अतिक्रमण एवं सुन्दरता खस्कने गरी भएका गतिविधिप्रति सबैको ध्यान पुग्नु आवश्यक रहेको बताए । मन्त्री भट्टराईले फेवातालमा मिचिएको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने धारणा राखे । निर्माणाधीन पोखरा विमानस्थलको काम समयमा नै सम्पन्न हुने बताउँदै उनले हवाई मार्गका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको र अहिले पनि १०÷१२ लाख पर्यटक आइरहेको बताउँदै मन्त्री भट्टराईले उक्त सङ्ख्यामा पर्यटक आउँदैनन् भन्दै हिँड्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
नेपाल भ्रमण वर्ष लक्षित पूर्वाधार विकासमा सरकार लागिरहेको उल्लेख गर्दैै उनले आगामी १५ दिनभित्र नेपाल भ्रमण वर्षको प्याकेज सार्वजनिक गर्ने बताए । नेपाल वायुसेवा निगम सम्बन्धमा देखिएका समस्या समाधान गर्दै यसलाई भरोसा गर्ने किसिमको बनाउने उनको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन व्यवसायमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गोपी भट्टराई, भरत पराजुली, लक्की कार्कीलगायतले सरकारको पर्यटन व्यवसाय मैत्री नीति तथा व्यवहार आवश्यक रहेकोमा जोड दिए ।