शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति, भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग : सरकार

बुधबार, भाद्र ११ २०७६

काठमाडौँ(जस)–प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे । “उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ”, उनले भने, “प्रधानमन्त्री स्वदेशमा नभए पनि उनकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ ।”
प्रमुख सचेतक खाँणलेप्रधानमन्त्री बाहिर जाँदा उनको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरे । बैठकमा प्रमुख सचेतक खाँणले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे ।
‘भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग’
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्र्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेएका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेकोअन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए । प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए । उनले भने, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो ।” राष्ट्रिय समाचार समिति (रासस)सँग मंगलबार कुरा गर्दै उनले भने, “सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर गएका होइनन् । केही समयका निम्ति उन उपचारका लागि गएका हुन् । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।”
यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्र्रिया गर्न सक्ने निर्णय गरेको थियो । उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे । उनले भने, “यस्ता कुरामा कुनै तुक छैन ।”
आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे । “कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छ”, उन भन्नुहुन्छ, “यस्तो ‘वाहियात’ कुरा गर्ने ? प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उनले आफ्ना मन्त्रीसँग अन्तरक्रिया गरेका हुन् ।”
आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे । गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै मन्त्री बाँस्कोटाले क्षणिक तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको समेत कुनै तुक नभएको स्पष्ट पार्नुभयो । “यस्ता कुरा जनताले पत्याउनेवाला छैन, बहस गर्न आए हुन्छ ।” वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवि र व्यक्तित्वमाथि प्रश्न नगर्न चुनौती दिँदै मन्त्री बाँस्कोटाले भने, “केपी ओलीको राष्ट्रवाद कोही कसैले बनाइदिएको होइन । धर्तीको मंगलबारको मान्छेले यो पाठ पढाउनुपर्दैन । “के राष्ट्रवाद के राष्ट्रघात भन्ने कुरा पनि बुझ्नुपर्छ, गलत कुरा गर्नेहरु डेडअक्कली राष्ट्रवादी हुन् । त्यस्ताका टिप्पणी गर्नु आवश्यक छैन ।”
‘प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ’
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको जानकारी दिँदै उन हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्कने बताए । “प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ । त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ”, उनले भने, “प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी ग¥यौँ, उनको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ । दुई वटा डोज दिइएको छ । सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ ।” उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नो बारेमा चिन्ता व्यक्त गर्नेलाई उनले धन्यवादसमेत दिनुभएको मन्त्री बाँस्कोटाले जानकारी दिए । “प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार