शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भैँसेपाटीमा मौलिक शैलीका सुविधासम्पन्न मन्त्री निवास निर्माण हुने, दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता

मंगलबार, भाद्र १० २०७६

काठमाडौँ(जस)–ललितपुर महानगरपालिका–१८ भैँसेपाटीमा नेपाली मौलिक शैलीको सुविधासम्पन्न मन्त्री निवास निर्माण गरिने भएको छ । सो स्थानमा निवाससँगै, बहुउद्देश्यीय सभाहल, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सामाजिक कार्यका लागि हल र सपिङ सेन्टरलगायतका सुविधासहितको मन्त्री निवास निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुल्चोकस्थित मन्त्री निवासका भवन साघुँरा र जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । निर्माण शुरु भएपछि दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको विशेष भवन निर्माण एकाइका प्रमुख प्रकीर्ण तुलाधरले बताए । परिसरमा ९६ रोपनी १० आना क्षेत्रफलमा ३३ वटा भवन निर्माण गरिने भएको छ ।
मन्त्रिपरिषद्को गत मङ्सिरमा बसेको बैठकले सैंबुमा मन्त्री निवास निर्माणको निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विभागले आवास निर्माणको डिजाइन तयार गरेको थियो । नेपाली परम्परागत मौलिकता झल्कने गरी डिजाइन तयार गरिएको प्रमुख तुलाधरले बताए । परिसरमा निर्माण हुने प्रत्येक भवन साढे दुई तलाका हुने बताइएको छ । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार निर्माण हुने उनले बताए । उनले भने, “एउटा प्रवेशद्वार सार्वजनिक र अर्काे निजी हुनेछ ।” परिसरमा २४ मन्त्रीका लागि २४ वटै निवास, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि एउटा÷एउटा निवास निर्माण हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग कार्यालय भवन, हेल्थ क्लब, पौडी पोखरी, हेलिप्याड, सुरक्षा जवानको निवासलगायतका पूर्वाधार निर्माण गरिने उनले बताए । आवासका लागि छुट्याइएको कूल क्षेत्रलफलमध्ये करीब १२ रोपनी भवनले ओगट्नेछ । करीब ३८ रोपनी क्षेत्रफल खुल्ला हरियाली क्षेत्रका लागि छुट्याएको छ । झण्डै २१ रोपनी जग्गा आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ भने ११ रोपनीमा हेल्थ क्लब बन्ने बताइएको छ । सामुदायिक हलका लागि सात आना जग्गा रहेको विभागले जनाएको छ । परिसर व्यवस्थापन कार्यालयका लागि तीन आना र दुई रोपनीमा तरकारी र फलफूल स्टोर रहनेछ । त्यसबाट बाँकी रहेको जग्गामा झण्डै एक सय सवारीसाधन अटाउने पार्किङ बन्ने बताइएको छ ।
भवनको निर्माण दुई चरणमा गरेर अघि बढाइने एकाइ प्रमुख तुलाधरले जानकारी दिए । पहिलो चरणमा २७ वटा भवन, पर्खाल, सडक, ढललगायतका पूर्वाधारको निर्माण हुनेछन् भने दोस्रो चरणमा हरियाली स्थान, सुरक्षाकर्मीका लागि भवन, सामुदायिक भवन, हेल्थ क्लब र पौडी पोखरी निर्माण गरिने उनले बताए । यहाँ निर्माण हुने २७ वटै भवनमा उति नै तला, कोठा र उस्तै डिजाइन हुनेछ । भवनहरुमा भुइँ तलामा मटान, बैठक कोठा, निजी कोठा, सुरक्षाकर्मीको कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा हुनेछन् । पहिलो कोठामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कक्ष, भान्सा र भोजन कक्ष रहनेछ । त्यस्तै, दोस्रो तलामा दुई वटा पाहुना कोठा, पूजा कोठा, लौन्ड्री रहने बताइएको छ । नेपालको संविधानमा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने’ व्यवस्था छ ।
हालको मन्त्रिपरिषद्मा २५ जना नै मन्त्री रहेका पुल्चोकस्थित आवास अपुग भएकाले कतिपय मन्त्री पुल्चोकभन्दा बाहिर नै भाडाका घरमा बस्दै आउनुभएको छ । संविधानमा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका सभामुख, उपसभामुखका लागि निवासको व्यवस्था हुने उल्लेख भए पनि भवन अभावका कारण सरकारले उपलब्ध गराउन सकिरहेको छैन । हाल मन्त्री निवास रहेको स्थानमा विसं २०२८ मा १४ वटा र विसं २०५४ मा पाँच वटा भवन निर्माण गरिएका थिए । पहिले बनेका भवन पुराना र जीर्ण हुँदा समयसमयमा मर्मत गरेर मन्त्री त्यहाँ बसिरहेका छन् । भैँसेपाटीमा भवन निर्माण सकिएपछि हाल मन्त्री निवास रहेको स्थान (पुल्चोक) मा राजकीय अतिथि गृह निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार