चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरु पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ ।
अस्मिता कार्की ‘रुकु’को मात्र अदालतमा बयान सकिएको छ भने भोली लामिछाने र कँडेलको बयान सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो ।उनीहरुलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरि अनुसन्धानका विषयमा जानकारी गराएको थियो ।यो घटनामा अनुसन्धानका लागि खटिएका केन्द्रिय अनुसन्धान व्यरो(सिआईबी) का एसपी दिपक रेग्मीले आफ्ना तर्फवाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिएका थिए ।
अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणहरु भेटिए सँगै सोहि अनुरुप प्रमाणहरु पेश गरिएको रेग्मीले बताएका थिए ।प्रहरीले लामिछाने सहित तीन जनालाई पक्राउ पछि दोस्रो पटक माग गरेको समय शनिवार सम्पन्न भएको थियो । सरकारी वकिल कार्यालयले अदालतमा आजै मुद्धा दर्ता गरेकोमा अदालतमा बयान नसकिएको हुँदा अभियुक्तहरुलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको वहस हुनेछ ।साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डीएको अवस्थामा भेटिएका थिए । सो पश्चात अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न वाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
नयाँ कानुनमा आत्महत्या गर्न वाध्य पार्नेलाई कारवाहि हुने व्यवस्था रहेको छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।