काठमाडौं (जस)– किर्गीस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान च्याम्पियन बनेको हो । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गीस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ को सेटमा हरायो ।
च्याम्पियनसिपमा दुवै टोली अपराजित रहदै फाइनल पुगेका थिए । सेमिफाइनलमा किर्गीस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो । यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो । एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले नेपालमा पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएका थिए । च्याम्पियनसिपमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौंथो भएको थियो । यस्तै नेपालले पाँचौं स्थान हासिल गरेको छ । पाँचौं स्थानको लागि भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तानले छैटौं स्थान हासिल गर्दा जितविहीन बंगलादेश पुछारमा रह्यो ।
प्रतियोगितामा किर्गीस्तानका कोन्यबेक उलू ओनल्बेक मोस्ट भ्यालुएबल, उज्वेकिस्तानका सोबिरोभ उत्कृष्ट स्पाइकर, तुर्कमेनिस्तानका गुलिभ मिथुन उत्कृष्ट ब्लकर, किर्गीस्तानका मुसेभ झामालिदीन उत्कृष्ट सेटर र उज्वेकिस्तानका साट्टोरोभ दिल्मुरोड उत्कृष्ट लिब्रो घोषित भए ।
यसअघि तेस्रो संस्करणको पनि उपाधि कीर्गिस्तानले जितेको थियो । उज्वेकिस्तानले भने अहिले सम्म उपाधि जित्न सकेको छैन । नेपालसहित दक्षिण एसियाका तीन टोली सहभागि भएपनि कुनै पनि टोलीले पदक जित्न सकेनन् । भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो ।
एभिसी सेन्ट्रल सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप
विजेता – कीर्गिस्तान
उपविजेता– उज्वेकिस्तान
तेस्रो – तुर्कमेनिस्तान
चौथो – माल्दिभ्स
पाँचौं – नेपाल
छैटौं –अफगानिस्तान
सातौं –बंगलादेश