शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै बिहिबार नेकपा सचिवालय बैठक बस्नै सकेन, आज ३ बजे बस्ने

शुक्रबार, साउन ३१ २०७६

काठमाडौं(जस)–दुईहप्ता अघि बसेर थप छलफल गर्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शीर्ष नेतहारुबीचको असहमतिका कारण थप सकसमा परेको छ । बुधबार बिहिबारका लागि सारिएको बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले बिहिबार अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय विभागहरु र विभिन्न एकतासम्बन्धी विवादहरु टुंगो लगाउन बसेको बैठक प्रधानमन्त्रीको अस्वस्थतताका कारण स्थगित भएको उनले बताए । स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।
केहि दिन अघि मात्रै उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीको स्वास्थ्य पुनः बिग्रिएको हो । नेपाल आएपछि ‘म स्वस्थ छु’ भनि ट्वीट गरेका ओलीको स्वास्थ्यमा पुनः समस्या आएको छ । एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्रीमा ज्वरो र जिउ दुख्ने समस्या देखिएको छ । ‘हामीले सामान्य छलफल र सरसल्लाह त गर्यौं, तर सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको स्वास्थ्यमा थोरै प्रतिकूलता भएका कारणले औपचारिक बैठक बस्न उपयुक्त ठानेनौं’, प्रवक्ता श्रेष्ठले भने, ‘हामीले नै आराम गर्न उनलाई सुझाव दियौं ।’
सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो । पार्टीमा देखिएको विवद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भएको थियो । तर सो छलफलमा कुरा नमिलेपछि बुधबारको बैठक बिहीबारसम्मका लागि सारिएको थियो ।
सिंगापुरबाट फर्किएपछि पार्टी अध्यक्षसमत रहेका प्रधानमन्त्री ओली छलफलमा जुटेका थिए ।स्रोतका अनुसार प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग सामुहिक र एक्ला एक्लै भेटघाट गरेका थिए । यता ओली र दाहाल कार्यविभाजनका सवै काम टुङ्ग्याउन बिहिबार बिहानैदेखि गृहकार्यमा जुटेको बताइएको थियो । बैठक अघि प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय सदस्य रामबहादुर थापा बादलसहित अध्यक्षद्वय गृहकार्यमा जुटेको र बैठक बस्नुअघि सबै विभाग, जनवर्गीय संगठन, मञ्च लगायत कार्यवभाजनका बाँकी काम टुंगो लगाउने गरी छलफल भैरहेको बताइए पनि पछि बैठक स्थगित भएको जानकारी गराइएको थियो । तर, स्कूल विभागमा अध्यक्षद्वयबीचमा बिहिबार पनि सहमति नजुटेको एक सदस्यले बताए ।
यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।
अन्य विभागको टुंगो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य्विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन । नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ । यसअघि साउन १३ गते बैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार