शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपामा स्कुल विभागको सकस, सहमति नहुँदा विवाद थप चर्कियो

मंगलबार, साउन १४ २०७६

काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबारको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाँकिएको बैठक बिनानिष्कर्ष सकिएको हो । मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक सकिएको हो । माधवकुमार नेपालले अझै गहन गृहकार्य गर्न बाँकी रहेकाले सोमबारको बैठक सकिएको जानकारी दिए । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा विवाद हुँदै आएको छ ।
स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको दाबी छ । प्रवक्ता श्रेष्ठले पार्टीमा रहेका कुनै पनि विभागका बारेमा निर्णय नभएकाले स्कुल विभागको मात्र विवाद नरहेको बताए । “कुनै पनि विभागका बारेमा कुनै निर्णय गरेको छैन, त्यसकारण कुनै एउटा विभागको विवाद छ भन्न मिलेन”, उनले भने ।
उनका अनुसार अर्को बैठक यही साउन २८ गते दिउँसो तीन बजेका लागि बोलाइएको छ । बैठकमा पार्टीका सबै केन्द्रीय निकायको एकीकरण र जिम्मेवारीकाबारेमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहाकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसङ्गठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे समेत छलफल भएको उनले बताए । उनले भने, “केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकता बारेमा सोध्ने, सल्लाह गर्ने तथा व्यवस्थित र परिमार्जित प्रस्ताव अर्को बैठकमा ल्याउनेसमेत निर्णय भयो ।”
यससँगै लामो समयदेखि विवादित रहेको नेकपाको स्कुल बिभाग अझै केहि साता विवादित नै हुने देखिएको छ । नेकपाका ३३ मध्ये १८ पूर्वएमाले र १४ वटा विभाग पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछि अन्य विभागको नेतृत्वपनि निर्णय गरिएको छैन । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको पूर्वएमाले समुहको सोमबार नै बसेको बैठकले पार्टीको स्कुल विभागमा देखिएको विवाद दुई अध्यक्षकै समझदारीमा टुंगिनुपर्ने निष्कर्ष निकाले पनि सचिवालय बैठक यस बारेमा कुनै निष्कर्षमा पुग्न सकेन ।
सार्वजनिक रुपमा पोखरेल र श्रेष्ठले आफ्नो दाबेदारीका विषयमा कुरा नगरेपनि पछिल्लो सचिवालय बैठकमा दुवैले आफुले स्कुल बिभाग पाउनु पर्ने दाबि गरेका थिए । त्यस्तै अर्का नेता घनश्याम भुसालले आफ्नो गृह जिल्ला रुपन्देही पुगेर स्कुल बिभागको दाबा गरेका थिए । उनले पार्टीको वैचारिक लाइनमा आफुले योगदान गरेकाले स्कुल बिभाग पाउनुपर्ने जिकिर गरेका थिए । त्यस्तै यस अघि स्कुल बिभागमा रहेर काम गरेका बेदुराम भुसालले पनि स्कुल बिभागमा दाबी गरेका छन् ।
नेकपामा स्कुल विभाग एउटा महत्वपूर्ण बिभाग मानिन्छ । अझ अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले यसको महत्व झन् बढेको छ । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिने र आम कार्यकर्ता तह सम्म पार्टीको विचार स्पष्ट गर्ने महत्वपूर्ण काम यस बिभागले गर्दछ ।
नेकपाको नियमावलीमा विभागका पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने गरी ७ काम तोकिएको छ । त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभाग जिम्मेवारीमा रहेको छ ।
अहिले दुई पार्टी एक भएर पार्टीलाई कुन लाइनमा अगाडी बढाउने भन्ने विषय नै विवादमा रहेकाले स्कुल विभागमा विवाद देखिएको हो । नेकपा अहिले जनताको जनवादको लाइनमा अगाडी बढ्ने निर्णय गरेको छ तर महाधिवेशनले नै अन्तिम निर्णय गर्ने गरी जनताको बहुदलीय जनवादलाई पनि बहसमा लैजाने पार्टीको अहिलेको निर्णय रहेको छ । अर्को पक्षबाट विश्लेषण गर्दा अहिले नेकपाभित्रको शक्ति संघर्षको परिणाम पनि हो स्कुल बिभाग विवाद । उपप्रधानमन्त्री तथा रक्षामन्त्री रहेका इश्वर पोखरेल मदन भण्डारीको जनताको बहुदलीय जनवादको खुला रुपमा नै वकालत गर्दै आएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको समेत साथ रहेको छ । पोखरेलले खुला रुपमा बहुदली जनवादको वकालत गरेकोले तत्कालिन माओवादी समुह उनलाई अहिले कुनै पनि हालतमा स्कुल बिभागमा ल्याउन नहुने अडानमा रहेको छ ।
पार्टी एकता हुदा जनताको जनवादको लाइनमा अगाडी बढ्ने सहमति भएकाले पार्टिको वैचारिक कार्यदिशा सोहि अनुसार हुनुपर्ने अडानमा खासगरी पुर्व माओवादी र पुर्व एमालेका माधव नेपाल पक्षधर रहेको देखिन्छ । अहिले नेकपामा अध्यक्ष ओलीको विपक्षमा रहेका नेताहरुले स्कुल बिभागलाई प्रतिष्ठाको विषय बनाएर आफ्नो पक्षमा पार्ने रणनिति समेत बनाएको घटनाक्रमले देखाएको छ । यसलाई दिर्घकालमा पार्टी कब्जा गर्ने रणनीतिका रुपमा पनि प्रचण्ड र नेपाल इतरका नेतारुले लिएको नेकपाका नेताले बताए । उनले एक किसिमले यो सामान्य विवाद देखिए पनि दिर्घकालमा पार्टीको वैचारिक लाइन तय गर्न स्कुल बिभागको भूमिका दुवै पक्षले बुझेकाले अहिले विवाद सतहमा आएको उनले बताए । अहिले दुवै अध्यक्ष स्कुल बिभागमा ल्याउने नेतृत्वको विकल्पमा समेत छलफल सुरु भएको बताइएको छ । पछिल्लो घटनाक्रम अनुसार स्कुल बिभागमा बामदेव गौतमलाई ल्याउने गरी समेत दुवै अध्यक्षबीच छलफल भएको बताइएको छ । तर यस बारेमा ठोस निर्णय भने भएको छैन । बामदेवलाई यस अघि संगठन बिभागको प्रमुख दिने बताइएको भएपनि स्कुल बिभागको विवाद पछि बामदेवको नाम अगाडि आएको हो । अहिले बामदेवलाई स्कुल विभाग दिएर तत्कालिन एमालेको भागमा परेको संगठन बिभाग पोख्रेललाई दिने बारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार