शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पार्टी एकताका सबै काम साउनभित्रै : प्रचण्ड

शुक्रबार, साउन १० २०७६

काठमाडाँै(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्रबाराहीमा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साउनभित्र स्थायी र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिनेछ भने । पार्टी एकता गरेर असाधारण पहल कदमी अगाडि बढाइएको उल्लेख गर्दै उनले एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पु¥याइएको बताए । अध्यक्ष दाहालले भने, “पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारको कामलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ ‘मोडल’ देश र दुनियाँलाई दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।”
नेपाल कम्युनिष्ट र राजनीतिक आन्दोलनका क्रममा विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री दाहालले दुई तिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने बताए । “जनताको विश्वासलाई कायम राख्दै ठूलो उचाइ हासिल गर्नु छ । नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनु छ । समाजवादको नयाँ धारा, मोडल र ‘सिस्टम’ दुनियाँलाई दिन सक्नुपर्छ”, उनले भने । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारको काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको बताए ।
केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको स्मरण गरे । अध्यक्ष दाहालले भने, “कर्माचार्यले जीवनभर आफूलाई कम्युनिष्ट आन्दोलनप्रति समार्पित गरे, माक्र्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतार्नुभयो ।” कर्माचार्यको वैचारिक र आन्दोलनप्रतिको निष्ठा मुख्य विशेषताका रुपमा रहेको अध्यक्ष दाहालको भनाइ थियो । “उन एउटा असाध्यै सरल, पारदर्शी, ‘अवसरवादको गन्ध’ नभएको व्यक्तिका रुपमा थिए”, उनले भने, “राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ । कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गरे ।”
सरलता, स्वाभाविकता, पारदर्शिता, इमान्दारिताको पर्यायका रुपमा कर्माचार्य रहेको स्मरण गर्दै अध्यक्ष दाहालले कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्छ भने । “आफ्नो जीवन राष्ट्र र जनताको निम्ति समर्पित गर्नुपर्ने र प्रेरणा लिने दिनका रुपमा बिहिबारको दिन रहेको छ”, उनले भने । साउन महिनामा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र संस्थापक सदस्य कर्माचार्य तथा तुलसीलाल अमात्य (केही दिनपछि) को स्मृति परेको सन्दर्भ उल्लेख गर्दै उनले यो महिना नेपाल कम्युनिष्ट पार्टीका अग्रणी तथा संस्थापक नेताको स्मरण गर्ने, योगदानको चर्चा गर्ने र उनहरुको गुणबाट शिक्षा र प्रेरणा लिई अगाडि बढ्ने महिनाका रुपमा रहेको अथ्र्याए ।
सबै कम्युनिष्ट पार्टीका बीचमा एकता होस् भन्ने उनको भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस अवस्थामा कर्माचार्यलाई सम्झनु भनेको पार्टी एकतालाई थप बलियो बनाउनु हो भने । अध्यक्ष दाहालले भने, “कर्माचार्य उमेर ज्येष्ठ भए पनि काम गर्ने क्षमताको हिसाबले जीवनभर युवा नै हुुनुहुन्थ्यो ।” कर्माचार्यको घरमा नै बसेर जनयुद्धमा जाने निर्णय गरिएको स्मरण गर्दै उनले भने, “क्रान्तिप्रति सधैँ चिन्तित थिए । हामी जनयुद्धमा जाँदा पनि सधैँ हाम्रो चिन्ता गर्नुहुन्थ्यो । सबैलाई अभिभावकत्व दिनुहुन्थ्यो ।” कुनै महत्वकाङ्क्षा नराख्ने नेताका रुपमा कर्माचार्यलाई आफूले पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उन पदप्रतिष्ठाको खोजी गर्नेतर्फ नलागेको बताए । “कम्युनिष्ट आन्दोलनको विस्तार र कम्युनिष्ट शक्तिबीचको एकता नै उनको स्वार्थ थियो ।”
कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई ठूला पार्टीबीचको एकतालाई अझ मजबुद बनाएर लैजानुपर्नेमा जोड दिँदै कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए । स्व कर्माचार्य जहिले पनि कम्युनिष्ट शक्तिबीचको एकताको पक्षमा रहेको स्मरण गर्दै उनले उन जीवितै भएको भए पार्टी एकताबाट निकै खुसी थिए भने । कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनमा कर्माचार्यले पु¥याएको योगदानका बारेमा अवगत गराएका थिए । सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।
कर्माचार्य २००५ सालदेखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय भएका थिए । २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने नेतामध्ये स्व कर्माचार्य पनि एक थिए । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिष्ट पार्टीको गठनपश्चात उन मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए । जीवनको उत्तरार्धमा तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षकका रुपमा रहेका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय नै थिए । उनको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते अर्थात् बिहिबारकै दिन निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार