बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अध्यक्ष भवन भट्टले चुनाव नलड्ने घोषणा गरेपछि उपाध्यक्षद्धय पन्त र आचार्यको अध्यक्षमा दाबेदारी, दुबैले गरे भट्टबाट सहयोगको अपेक्षा

शुक्रबार, साउन १० २०७६

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी शुरु भएको छ । सन् २०१९–२०२१ को कार्यकालका लागि आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको नवौं विश्व सम्मेलनले नयाँ नेत्ृत्व चयन गर्नेछ । यसै सन्दर्भमा एनआरएनका वर्तमान अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् । दुई वर्षे कार्यकाल सकिन साढे दुई महिना अघि बाँकी रहँदा भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेसँगै आगामी नेतृत्वका लागि को–को उम्मेदवार बन्ने हुन भन्ने चर्चा शुरु भएको छ । आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र बहस भइरहेको बेला भट्टले यो घोषणा गरेका हुन् । यसले एनआरएनएमा नयाँ तरंग सिर्जना गरेको छ । यससँगै आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । अध्यक्षको दाबेदारी गरिरहेका पन्त र आचार्य दुवैले आफुलाई घट्टले सहयोग गर्ने बताएका छन् । पन्त र आचार्यसँगको कुराकानीमा दुबैले भट्टबाट सहयोगको अपेक्षा गरेको बताए ।

भट्टले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक विशेष सम्बोधन गर्दै अबको नयाँ नेतृत्व संस्थालाई गति दिनसक्ने बलियो होस् भन्ने आफ्नो चाहना रहेको बताउँदै आफू एनआएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको टिप्पणी गरेका छन् । ‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु’ भट्टले भने, ‘ म चालकको सिटबाट पछाडि सरेको मात्रै हो । बसबाट निस्केको छैन ।’ नेतृत्वमा नरहेपनि एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै रहने भट्टको भनाई छ । ‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत–रगतमा छ जीवनपर्यन्त रहन्छ’ भट्टले भने । धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको भट्टले बताए । भट्टले भने, ‘मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु ।’

एनआरएनमा रहँदा आफूले सबै पक्षको माया पाएको उल्लेख गर्दै उनले भने, ‘म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ ।’ आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको स्पष्ट पार्दै भट्टले पावर र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको र आफूले त्यसको थालनी गरेको बताए । के अध्यक्षमात्रै टप लिडरसिप हो र ? यहाँ कैयन भवनहरुले अवसर पाउनु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ ’ भट्टले भने, ‘मैले त्यो अन्त्य गरेको छु । धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु ।’ भट्ट पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घलेलाई अघिल्लो निर्वाचनमा हराउँदै अध्यक्ष बनेका थिए ।
भट्टले एनआरएनमा बलियो नेतृत्वको खाँचो रहेको बताएका छन् । एनआरएनलाई कसैले बिगार्न खोजे आफू चुप लागेर नबस्ने भट्टले चेतावनी दिएका छन् । यसैबीच भट्टले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, राजनीतिक दललगायतलाई धन्यवाद दिएका छन् । २००३ मा एनआरएनको सदस्य बनि संस्थामा लागेका भट्ट अघिल्लो कार्यकालबाट केन्द्रीय अध्यक्ष बन्न सफल बनेका थिए । उनले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, शंखमूल पार्क निर्माण, एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न गरिएको स्मरण गर्दै एनआरएनकै सक्रियता र सहभागितामा नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए

प्रतिक्रिया
सम्बन्धित समाचार