काठमाडौं(जस)– नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा)शुल्क नलिने सहमति भएको छ । नेपाल र जर्जियाबीच सचिवस्तरमा सोमबार परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो । दुवै देशका कूूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उनका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । सोमबारै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जर्जियाका परराष्ट्र सचिव अर्चिल जुलियासिभ्लीले सोमबार अपराह्न परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनहरुबीच नेपाल र जर्जिया सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।