काठमाडौँ(जस)–नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । समितिका सदस्यमा डा आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहनुभएको छ ।
बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कङ्ग्रेन रहनुभएको छ । यसैगरी खिलानाथ दाहालको संयोजकत्वमा गठन गरिएको स्रोत व्यवस्थापन समितिमा सुभाष पोखरेल, डा प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहनुभएको छ । बैठकले काङ्ग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण कार्यक्रम यही साउनभित्रै काठमाडौँमा गर्ने निर्णयसमेत गरेको सचिव आचार्यले जानकारी दिए ।
केन्द्रीय समिति बैठक बिहीबार
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ । यसअघि साउन ७ गतेका लागि निर्धा्रित बैठक विपी स्मृति दिवसका कार्यक्रममा सहभागी हुन केन्द्रीय नेताहरु काठमाडौँबाहिर हुने भएपछि बैठक दुई दिनपछि राखिएको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साउन ९ गते अपराह्न २ बजे बस्ने बैठकमा पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल हुने बताइएको छ ।
त्यस्तै विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने तथा केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने विषय छलफलका लागि तय भएको उनले बताए ।
काङ्ग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा, मुलुकको समसामयिक राजनीतिकलगायत विषय बैठकमा छलफल गर्न यसअघि तय भइसकेका छन् ।