बिहिबार, साउन २ २०७६
लहान(जस)–दुई पूर्वप्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्रीले बुधबार बाढीबाट प्रभावित सिरहाका विभिन्न स्थानको हेलिकप्टरबाट निरीक्षण गरेका छन् । हालैको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठसहितको टोलीले हेलिकप्टरबाटै निरीक्षण गरेका हुन् । तर, उनीहरुले प्रभावित क्षेत्रसम्मै पुगेर पीडितका पीरमर्का भने सुनेनन् । जसका कारण मन्त्रीहरुलाई आफ्ना पीरमर्का सुनाउने आशमा बसेका पीडितहरु निराश बनेका थिए । ‘गुनासा सुनाउने रहर अधुरै रह्यो’, एक पीडितले भने ।
अविरल वर्षापछि आएको बाढीलाई भारतीयपक्षले बाँध थुनेर छेकिदिँदा डुबानमा परेको रौतहतको अवस्था बुझ्न वरिष्ठ नेता माधवकुमार नेपाल चारजना मन्त्रीसहित बुधबार गृहजिल्ला पुगेसँगै पीडितहरु आफ्ना समस्या सुनाउने तरखरमा बसेका थिए । तर, हेलिकोप्टर लिएर नेपालसँगै रौतहट र प्रदेश २ मा बाढीले गराएको क्षतिको अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव, गृह मन्त्री थापा, ऊर्जा तथा सिँचाइ मन्त्री पुन र भौतिक पूर्वाधार मन्त्री महासेठ बुधबार गौर पुगेर फर्किए । उनीहरुले बुधबार पीडितलाई नभेटी राजधानी फर्किएको छ । उनीहरू हेलिकप्टरबाट आएर गौरको पुरेनवास्थित सेनाको गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्था बुझेर फर्किए ।

राजधानीबाट सेनाको हेलिकप्टर लिई आएको टोली पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएको थियो । त्यही सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर बाढी र डुबानबाट भएको क्षतिको जानकारी र विवरण लिएर फर्किएका हुन् । टोलीलाई जिल्लाको वस्तुस्थितिबारे जानकारी गराइएपछि फर्कनेक्रममा मन्त्री थापाले वर्षाबाट हुने क्षति र डुबानको पूर्व तयारीमा केही कमी भएको बताए । उनले अब पुनर्निर्माण र राहतमा सरकार केन्द्रित हुने जानकारी दिए । टोली सुरुमा ईशनाथ नगरपालिकास्थित बाढीबाट डुबानमा परेका बन्जाराहा गाउँ जाने योजना भएपनि सुरक्षा निकायले डुंगाबाट जानुपर्ने र जोखिम हुने भएपछि गएनन् । गौर, पिप्राभलोहिय र बडहर्वामा रहेका विस्थापितहरुलाई भेट्नसमेत मन्त्री गएनन् । हेलिकप्टरबाट एक चक्कर लगाएर फर्किए । डुबान र बाढीबाट प्रभावित क्षेत्र निरीक्षण गर्न आएका मन्त्रीको जम्बो टोली पीडितको समस्या नसुनी फर्कियो । गत शुक्रबारदेखिको वर्षाका कारण शनिबारबाट डुबानमा परेको प्रदेश २ मा पुग्न संघीय सरकारका मन्त्रीहरुलाई ६ दिन लागेको हो । प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ ।
डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ । महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५(५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ । डुबानको अवलोकनमा पुगेको सरकारी टोलीमा संसदको विकास समिति सभापति कल्याणी खडका र नेकपा सांसद प्रभु साह पनि छन् । त्यससँगै सीमामा भारतीय पक्षले समयमा बाँध नखोलिदिँदा नेपालको ठूलो क्षेत्र डुबेको हो । भारतले बैरगनियास्थित बाँधको ढोका नखोलेपछि सदरमुकाम गौर अझै जलमग्न छ । आषाढ २६ गतेदेखि परेको अविरल बर्षका कारण देशभरमा ८३ जनाको मृत्यु भैसकेको छ भने करिब ३ दर्जन अझै बेपत्ता रहेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट आइपुगेको टोलीले कमला र बलान नदीको बाढीबाट प्रभावित सिरहा सदरमुकामसहित सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, लहान नगरापालिका, कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका विभिन्न वडाको निरीक्षण गरे । सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । कमला र बलान नदीको बाढी गाउँ पस्दा सिरहाका विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई हजार ५३८ घरमा आंशिक क्षति पुगेको प्रजिअ गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
मधेश जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन् । प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि बुधबार जनकपुरधाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उनले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्दहुनु जरूरी छ भने । चुरेलाई बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य भइसकेको बताए । सरकारको सम्पूर्णशक्ति बाढीपीडितलाई राहत उपलब्ध गराउन जुटेको बताउँदै उपप्रधानमन्त्रीले अब क्षतिको विवरण आइसकेपछि पुनःनिर्माण कार्यमा जुट्ने विश्वास दिलाउनुभयो । उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश नं २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताए ।
प्राकृतिक विपद्बाट जोगाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको भन्दै उनले यथाशीघ्र उद्धार र राहतका लागि प्राधिकरण गठन गर्ने कानूनी कार्यसम्पादनमा लाग्ने पनि जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापा बादलले बाढीले सबैभन्दा अधिक प्रदेश नं २ प्रभावित भएको, तीन दर्जनजति मानिसको मत्यु र अर्बौको क्षति र पूर्वाधार नष्ट भएको जानकारी दिँदै सङ्कटलाई सामना गरी उद्धारकार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताए ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्षति भइको संरचनाको पुनःनिर्माणमा बजेटको अभाव हुन नदिने बताए । चुरेको विनाशले प्राकृतिक विपद्मा वृद्धि भई मधेश नै मरूभूमि बन्ने खतरा देखिएको बताउँदै उनले पूर्वाधारको मर्मतसम्भार, तटबन्ध निर्माणतर्फ ध्यान केन्द्रित गर्नु जरूरी छ भने । भारतीय बाँध उत्पन्न समस्याको समाधानबारे पहल भइरहेको बताउँदै उनले नेपालभित्र रहेका नदीको तटबन्ध राम्ररी गर्नु पनि जरूरी छ भने ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपद्को स्थायी समाधानका लागि सङ्घीय सरकारको सहयोगका लागि आग्रह गरे । पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रदेश नं–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको पनि उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश नं–२ का मुख्यसचिव दीपक सुवेदी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बाढीले पु¥याएको क्षति, उद्धार, राहत र आवश्यकताबारे जानकारी गराए ।
प्रदेश २ मा ३२ को मुत्यु
केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् ।
यसैगरी तीन हजार ५७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १०४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएको सो कार्यालयले जनाएको छ । सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ । वर्षा रोकिएपछि हाल स्थिति सामान्य हुँदै गएको छ । बाढी तथा डुबानमा परेका पीडितको पुनःस्थापना तथा राहत वितरणको काम भइरहेको सो कार्यालयले जनाएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij