शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपाको एकता प्रक्रिया टुंगियो, प्राविधिक कुराहरु सचिवालयको बैठकबाट अनुमोदन गरेर सार्वजनिक गरिने

बुधबार, साउन १ २०७६

काठमाडौं(जस)– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याएकोे महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए । पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । मंगलबार टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताए ।

लामो छलफलपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी रहेको एकता प्रक्रिया टुंगो लागेको नेताहरुले बताएका छन् । मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट एकता प्रक्रिया टुंगो लगाइएको हो । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले पटक–पटक असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार मंगलबार करीब ३ घण्टा लामो छलफलबाट दुई अध्यक्षले एकताको टुंगो लगाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको छलफलले एकता प्रकृया टुंगो लगाएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । उनले प्राविधिक कुराहरु साउन ५ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरेर सार्वजनिक गरिने पनि बताए ।

जेठ २१ गतेदेखि तीन दिनसम्म बसेको नेकपा सचिवालको बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो । सोही अनुसार अध्यक्षद्धय ओली र प्रचण्डले एक महिना गृहकार्य गरि त्यसलाई टुंगो लगाएका हुन् । मंगलवार नेकपा ललितपुर कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचडले पार्टीको एकता प्रकृया मंगलबारैै टुगों लगाउने घोषणा गरेका थिए । प्रचण्डले भनेका थिए, ‘जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार मञ्च, आयोग र विभागको विवाद टुगिंएको छ । बाँडफाँट भइसकेको छ, अब ती खाली ठाउँमा नाम भर्न मात्र बाँकी छ । आजै पार्टी एकता टुगों लगाउने वित्तिकै संगठनलाई सुदृढ बनाउने अभियान सञ्चालन हुन्छ ।’

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भने जस्तै विभिन्न ३२ वटा विभाग, सल्लाहकार मञ्च, आयोगलगायतमा भागबण्डा भएको छ । जसमा तत्कालिन एमालेले १८ र तत्कालिन माओवादी केन्द्रले १४ वटा पाएको छ । जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ । जिल्लामा रहेका तत्कालिन एमाले र माओवादी केन्द्रका तत्कालिन इन्चार्ज र सहइन्चार्जबाट नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्ने बताइएको छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार