बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

सोमबार, असार २३ २०७६

भीमदत्तनगर(जस)–तराईको चर्को गर्मी । साँघुरो कोठा र त्यसमाथि पङ्खा नहुँदाको अवस्था । कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव र समस्याको सामना गर्दै कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणरत् छन् । जिल्ला खेलकूद विकास समिति कञ्चनपुरको कार्यालय प्रयोजनका लागि बनेको हलमा गत जेठ महीनादेखि राष्ट्रिय कुस्ती खेलाडी प्रशिक्षणमा व्यस्त छन् । विभिन्न खाले समस्यासीत जुधिरहेका ती खेलाडी आफ्नो पीडा सुनाउन बाध्य छन् । प्रशिक्षणमा नौ महिला र तीन पुरुष खेलाडी छन् । उनीहरुलाई कञ्चनपुरकै कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले नियमित प्रशिक्षण गराइरहेका छन । “हल साघुँरो हुँदा खेलाडीले राम्रो वातावरणमा प्रशिक्षण गर्न पाइरहेका छैनन्”, प्रशिक्षक चन्दले भने, “देशकै कुस्ती टिम यहाँ प्रशिक्षणमा जुट्दा कसैले वास्ता गरेनन् ।”
उनले गत चैतमा सम्पन्न बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिमका लागि कञ्चनपुरका महिला खेलाडीले सर्वाधिक छ स्वर्णसहित पदक दिलाएकाले साफको बन्द प्रशिक्षण यहाँ आएको बताए । “आठौँमा मेडल ल्याउँदा कुस्तीको विकासका लागि भाषण गर्न नथाक्ने अहिले खेलाडी कुन अवस्थामा प्रशिक्षणमा छन् भन्नेबारे बेखबर जस्तै छन्”, चन्दले भने, “हलभित्र भएका दुई वटा पङ्खा पनि राम्रोसित चल्दैन ।” राष्ट्रिय खेलकूद परिषद्को कार्यक्रमअनुरुप नियमित बन्द प्रशिक्षणमा रहेका कुस्ती खेलाडीको व्यवस्थापनमा जिल्ला खेलकूद विकास समितिले पनि यथोचित ध्यान दिएको छैन । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आगामी मङ्सिर १५ देखि २५ गतेसम्म काठमाडौँ र पोखरामा सञ्चालन हुँदैछ ।
नेपाल नै आयोजक रहेका बेला यहाँ खेलाडीको प्रशिक्षण र व्यवस्थापनमा खेलकूद क्षेत्र सक्रिय भएर लागेको देखिँदैन । कुस्तीका लागि १२ मिटर लम्बाइ र १२ मिटर नै चौडाइ भएको हल आवश्यक पर्छ । तर यहाँ खेलाडी तीन मिटर लम्बाइ र सात मिटर जति चौडाइ भएको हलमा प्रशिक्षणमा छन । “हलको समस्यासँगै म्याट कभर मगाएको पनि महीना दिन भइसक्यो, आउँछ भने पनि आएको छैन”, चन्दले भने । बन्द प्रशिक्षणमा रहेका त्रिभुवन आर्मी क्लबका खेलाडी सुरेश चुनाराले प्रशिक्षण नियमित भए पनि व्यवस्थापकीय पक्षमा राज्यको ध्यान नपुगेको बताउनुहुन्छ । अठारौँ एशियन खेलकूद प्रतियोगिता भाग लिइसकेका चुनाराले १३औँ साफमा कुस्तीमा पदक ल्याउन खेलाडीलाई बाह्य प्रशिक्षणमा पठाउनुपर्ने सुझाव दिन्छन । “खेलाडीको तयारी र सुविधामा स्थानीय तह र प्रदेश सरकार पनि गम्भीर भएन”, चुनाराले भने, “गुरुको आफ्नै पहलले व्यवस्थापकीय पक्ष चलेको छ ।”
भारतको गोहाहिटीमा भएको १२औँ साफ खेलकूददेखि महिला कुस्ती समावेश गरिएको हो । उक्त प्रतियोगितामा कुस्ती खेलमा १० वटा बेग्लाबेग्लै तौल समूहमा नेपालबाट महिला खेलाडी सहभागी भएका थिए । “बाह्रौँ साफको अनुभवलाई यहाँ आएर आगामी प्रतियोगितामा प्रदर्शन गर्न सक्ने वातावरण नै भएन”, १२औँ साफमा सहभागी कुस्ती खेलाडी कविता पुनले भनिन, “हाम्रो व्यवस्थापन निकै कमजोर भयो ।” साफको तयारीका क्रममा धेरै खेलका खेलाडी अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि बाह्य मुलुक गइसकेको भए पनि कुस्तीको कुनै सुरसार नरहेको बताए ।
“खेलाडीबाट आशा गर्ने तर व्यवस्थापनमा ध्यान नदिने हाम्रो प्रचलन जस्तै बनिसक्यो”, बन्द प्रशिक्षणमा रहेकी पुनले भनिन्, “खेलकूदको विकासका लागि नारा बनाएर मात्रै हुँदैन ।” त्यसैगरी नेपालबाट कुस्तीमा आगामी १३औँ साफमा भाग लिने कान्छी खेलाडी हुन् विराटनगरकी सिजासु गिरी । गत चैतमा भएको बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उनी कुस्तीको महिलातर्फ नेपालकै उत्कृष्ट खेलाडी घोषित भएकी थिइन । उन्नाइस वर्षीया गिरी आठौँमा प्रतिस्पर्धा गर्नुअघि करीब एक महीनाअघि मात्रै कुस्ती खेलमा आएकी थिइन । त्यसअघि उनी कबड्डी खेलबाट अन्तरराष्ट्रियस्तरको खेलमा सहभागी भइसकेकी छन् । हाल कुस्तीको बन्द प्रशिक्षणमा रहेकी गिरीले आगामी साफमा पराजय व्यहोर्ने कुरा मनमै नराखेको बताइन । निडर स्वभावकी गिरी साफमा पदक ल्याउने प्रतिज्ञाका साथ प्रशिक्षणमा जुटेको बताउँछिन् । “खेल भनेको हार्नका लागि खेल्ने होइन”, गिरीले भनिन, “बाँकी प्रदर्शनबाट थाहा भइहाल्छ ।” गिरीले प्रशिक्षणका लागि राखिएको ‘म्याट’ मा ‘कभर’ नहुँदा चिपिल्ने गरेको दुखेसो पोखिन । गत वर्ष पनि एशियन खेलकूदको तीन महीना बन्द प्रशिक्षण भीमदत्तनगरमै भएको प्रशिक्षक चन्दले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार