भक्तपुर(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कुनै हालतमा असफल नहुने बताएका छन् । आइतबार भक्तपुरको बोडेमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनको उद्घाटन गर्दै उनले कम्युनिष्ट नेतृत्व सरकार असफल हुन्छ भन्नेलाई सरकार सफल बनाएर देखाउन चुनौती दिए । “कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा आन्दोलन गर्दा लोकप्रिय हुन्छन् तर शासन सत्तामा पुगेपछि भने सफल हुँदैनन्, सत्ताको अनुभव नुहँदा समस्या आउँछ भन्ने भनाइ छ”, प्रचण्डले गरे, “नेपालका कम्युनिष्ट आन्दोलनमा मात्रै होइन सरकार सञ्चालनमा पनि सफल छन् भन्ने देखाउनुपर्छ ।”
अबको एक महीनाभित्र पार्टी एकता टुङ्ग्याएर सरकार सञ्चालनमा मात्रै पार्टी केन्द्रित रहने बताउँदै उनले पार्टी एकतामा मात्रै अब अल्झेर नबस्ने भनाइ राखे । आइतबार राजनीतिक प्रतिवेदन टुङ्गिएको बताउँदै उनले गरे, “आइतबार बालुवाटारमा प्रधानमन्त्री र म बसेर राजनीतिक प्रतिवेदनलाई टुङ्ग्याएका छौँ, ठूलो काम पूरा भएको छ, सहमति र सहकार्यबाटै एकता अगाडि बढ्छ ।”सरकार र पार्टीले देशलाई स्थायित्व, समृद्धि र विकास दिन नसके दुर्भाग्य हुने बताउँदै उनले सबै खालका अहङ्कारलाई त्यागेर जनताको हितमा काम गर्ने भनाइ राखे । जनतालाई निर्वाचनमा जाँदा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले गरे, “सरकार र पार्टी दुवै यतिखेर विशेष परिस्थितिमा गुज्रिरहेको छ, पार्टी एकताको सन्दर्भ पनि सङ्क्रमणमै छ, हामीले विगतमा गरेको घोषणालाई व्यवहारमा उतार्ने अग्निपरीक्षामा हामी रहेका छौँ ।” पार्टी गुट र स्वार्थमा नभई देश र जनताको हितमा लाग्ने बताउँदै उनले सरकारको लोकप्रियताको ग्राफलाई घट्न नदिई अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताउँदै प्रचण्डले गरे, “एकतापछिको पार्टीको आगामी महाधिवेशन एकता महाधिवेशन नै हुन्छ, यसमा कुनै चुनाव र मतदान हुँदैन, सहमतिबाटै अगाडि बढ्ने हो, त्यसपछिको महाधिवेशन मतदान प्रक्रियामा जाला ।” उनले एकताबद्ध भएर तल्लो तहसम्म जानुपर्नेमा जोड दिए ।