काठमाडौं(जस)–भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य द्वारिकमान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो । सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो । अख्तियारले प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको थियो ।
विशेषको संयुक्त इजलासले ’मिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको’ फैसला गर्दै प्रतिवादीहरूलाई सफाई दिएको हो । २०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । वन्त पदबाट निलम्बन भएपछि २०७२ माघ १८ मा उनीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको थियो । त्यस्तै पूर्व आईजीपी श्रेष्ठसहित ४ जनाविरुद्ध २०७२ माघ २४ मा मुद्दा दायर गरिएको थियो भने वलीसहित ३ जनाविरुद्ध २०७२ माघ २९ र बस्नेतसहित ७ जनाविरुद्ध २०७२ कै फागुन १७ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।