काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ३ गते शनिबारदेखि सुरु भएको वडा अधिवेशन आज (मंगलबार) पनि जारी छ। पार्टी केन्द्रीय निर्वाचन समितिका अनुसार सर्वसम्मत हुन बाँकी रहेका तथा प्रक्रियामा रहेका केही वडाहरूमा आज अधिवेशन सम्पन्न गराउने गरी कार्य भइरहेको छ।
बाढी प्रभावित तीन जिल्लाबाहेक अधिकांश स्थानमा गत शनिबार र आइतबार नै वडा अधिवेशन सम्पन्न भइसकेका छन्। सहमति जुट्न बाँकी रहेका र सोमबारसम्म पनि टुङ्गो नलागेका वडाहरूमा निर्वाचन समितिले आज अधिवेशन गराइरहेको छ।
असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै तेस्रो दिन सोमबारसम्म ६३ जिल्लाका वडाहरूमा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
समितिका अनुसार धनुषा, मोरङ, अछाम, नवलपरासी, डडेल्धुरा, रुपन्देही, महोत्तरी, सप्तरी, सिराहा, रौतहट र सर्लाहीका केही निर्वाचन क्षेत्र तथा वडाहरूमा अधिवेशन अन्तिम चरणमा पुगेको छ। यद्यपि, भोटेकोशीको बाढीबाट प्रभावित जिल्लाहरूमा भने यो चरणमा वडा अधिवेशन गराइने छैन।
यसैबीच, गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागी हुन पाउने निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताउनुभयो। वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी वडा सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ।
निर्वाचित वडा सभापतिले कार्यसमितिमा कोषाध्यक्षसहित स्थानीय तहको संरचना (गाउँ, नगर, उपमहानगर वा महानगर) अनुसार थप सदस्यहरू मनोनीत गर्न पाउने वैधानिक व्यवस्था रहेको छ।