संखुवासभा(जस)–संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । सो घटनापछि नेपाली सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली घटनास्थल पुगेको छ । सोमबार बिहान करिब १० बजे जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको होयेङलामा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि सो स्थानलाई थप सुरक्षा दिइएको हो । यसबीच नेपाली सेनाको हेलिकप्टरले सो क्षेत्रमा गस्ती गरेको छ । घटनाका सन्दर्भमा प्रदेश एकका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीले विप्लव समूहले फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताएका छन् । उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो । कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन ।’
प्रहरीको टोली नियमित गस्तीका क्रममा रहँदा सिसुवा खोलाको होयेङलामा विप्लव समूहबीच दोहोरो भिडन्त भएको हो । सो क्रममा चन्द समूहका कार्यकर्ता जंगलतर्फ भागेको सुरक्षा स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार दोहरो भीडन्तका क्रममा विप्लव समूहका करिब २५ जना हतियारसहित रहेका थिए । घटनापछि जङगलतर्फ भागेका विप्लव कार्याकर्ताहरुको सुरक्षा टोलीले खोजी गरिरहेको जनाइएको छ । घटनापछि सिलिचोङमा काठमाडौबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट करिब ५० जनासहितको टोली पुगेको बताइएको छ ।
त्यसैगरि, घटनास्थलतर्फ ताम्कु प्रहरी चौकी, सिसुवा प्रहरी चौकीका प्रहरी र अरुण गुल्म चैनपुरका सशस्त्र टोली पनि पठाइएको जिल्लाका प्रहरी नायव उपरिक्षक भीमबहादुर लामाले जानकारी दिए । यसअघि, सो स्थानमा विप्लव समूहका कार्यकर्ता हतियारसहित आएको सुराकीका आधारमा गस्ती टोली पठाईएको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि २ दिनको पैदल दुरीमा पर्दछ । घटनास्थल अति विकट संखुवासभा, भोजपुर र सोलुको सिमानामा पर्दछ ।