काठमाडौं(जस)–नेपाली काँग्रेसले मन्त्री बिना मगरको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ । बुधबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी मन्त्री मगरको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गर्दा आफ्नो पार्टीका २० नेता कार्यकर्ता घाइते भएको दाबी गरेका हुन् । उनले मंगलबार कञ्चनपुरको पुर्नवास नगरपालिका १० मा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका काँग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताएका छन् ।
आक्रमणमा परेर काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगरसचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेद्वार तोयप्रसाद शर्मासहित २० जना घाइते भएको जनाइएको छ । विज्ञप्तिमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाइएको छ । घाइतेहरुको राजधानीको बाँसवारीस्थित न्युरो अस्पताल र कैलाली अस्पतालमा उपचारार्थ भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।