काठमाडौँ(जस)–सरकारको नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ । मंगलबार आफूसँग शिष्टाचार भेटका लागि पुगेकी नेपालकालागि चिनियाँ राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन् । मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीको पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युत्को लागि भारत र बङ्गलादेशमा बजारको पहल भइरहेको बताउनुभएको थियो । “नेपालको जलविद्युत् क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बङ्गलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । त्यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ”, मन्त्री पुनले भने ।
चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याका बारेमा जानकारी गराउँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन । मन्त्री पुनले राजदूतलाई भने, “चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । हाम्रोमा किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।” मन्त्री पुनले दूधकोशी जलविद्युत् आयोजनामा विश्व बैंकले ५०० मिलियन अमेरिकी लगानी गर्ने तयारी गरेको गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नका लागि केही रकम अपुग भएकोले चिनियाँ सहयोगको अपेक्षा गरे ।
भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयले जनाएको छ । उनले नेपालको जलविद्युत् क्षेत्रमा १४ चिनियाँ कम्पनीले २४ वटा आयोजना रहेको जानकारीसमेत दिए । चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा प्रवेशाज्ञा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको राजदूतको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हालस्थिर सरकार रहेको र अरू चार वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलब्धि हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको बताइन ।